बैंकिङ खबर । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएका छन् । एशियन र फस्र्टले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् भने कामना सेवाले १० बराबर १.५को अनुपातमा हकप्रद जारी गर्ने अनुमति पाएको छ ।
एशियन लाइफले एक सय रुपैयाँ अंकित मूल्यमा ४० करोड २७ लाख ९६ हजार छ सय २० रुपैयाँ बराबरको ४० लाख २७ हजार नौ सय ६६ दशमलव २० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्तापुँजी ८० करोड ५५ लाख ९३ हजार रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि कम्पनीको चुक्तापुँजी एक अर्ब २० करोड ८३ लाख ९० हजार रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
त्यस्तै, फस्र्ट माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ८१ लाख ३१ हजार तीन सय रुपैयाँ बराबरको २२ लाख ८१ हजार तीन सय १३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल माइक्रोफाइनान्सको चुक्तापुँजी ४५ करोड ६२ लाख ६२ हजार रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि कम्पनीको चुक्तापुँजी ६८ करोड ४३ लाख ९३ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा ग्लोबल आईएमई क्यापिटल लिमिटेडले पाएको छ ।
यता, कामना सेवाले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड ९४ लाख १५ हजार चार सय ७७ रुपैयाँ बराबरको ३० लाख ९४ हजार एक सक्ष् ५४ दशमलव ७७ कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ । हाल कामना सेवा विकास बैंकको चुक्तापुँजी दुई अर्ब छ करोड २७ लाख ७० हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्तापुँजी दुई अर्ब ३७ करोड २१ लाख ८५ हजार रुपैयाँ पुग्नेछ । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा बैंकले एनएमबि क्यपिटल लिमिटेडलाई नियुक्त गरेको छ ।