बैंकिङ खबर । सोमबार सेयर बजार ४४.२२ अंकले बढेर १४३४.८० अंकमा पुगेको छ । अन्यबाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै बीमा समूह २७०.८ अंकले बढेको छ । बैंकिङ, व्यापर, होेटल, विकास बैंक, जलविद्युत्, फाइनानस, उत्पादनमूलक र लघुवित्त क्रमशः४२.५२, २.८७, १११.५७, ४५, ५९.८, १३.२६, २५.३२ र ६९.४७ अंकले बढेका छन् । अन्य समूह ०.८७ अंकले घटेको छ ।
बजार बढ्दा पनि कारोबार रकम घटेको छ । दिनभरिमा १६३ वटा कम्पनीको ११ लाख ४१ हजार चार सय ६३ कित्ता सेयर पाँच हजार दुई सय २९ पटक खरिदविक्री हुँदा ४९ करोड ८४ लाख ७२ हजार तीन सय ९८ रुपैयाँको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड र प्रभु बैंकको दुई करोड तथा नेपाल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, चिलिमे हाइड्रो, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, बुटवल पावर कम्पनी लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, राष्ट्रिय बीमा कम्पनी र वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले आठ प्रतिशत तथा मिथिला लघुवित्त, हिमालयन बैंक, कालिका माइक्रोक्रेडिट, रिलायन्स फाइनान्स र एनएमबि माइक्रोफाइनान्सका सेयरधनीले सात प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । स्टान्डर्ड चार्टर्ड बैंक, वरियन्टल होटल्स लगायतका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
जम्मा १२ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै पूर्णिमा विकास बैंकका सेयरधनीले ३.०८ प्रतिशतका दरले गुमाएका छन् । एनआईबिएल प्रगति फण्ड, ग्लोबल आईएमई समुन्नत स्किम, किसान माइक्रोफाइनानस, सहयोगी विकास बैंक, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, पोखरा फाइनान्स, महुली सामुदायिक लघुवित्त, सिनर्जी पावर, भार्गव विकास बैंक, नेपाल टेलिकम, आरएसडीसी लघुवित्त र एनएमबि हाइब्रिड फण्डका सेयरधनीले पनि गुमाएका छन् ।