December 31st, 2017

धितोपत्र बजारका समस्या समाधानका लागि इन्भेष्टर्स र बैंकर्सबीच छलफल

सेयर बजार निरन्तर ओरालो लागरिरहेको सन्दर्भमा नेपाल इन्भेष्टर्स फोरमको प्रतिनिधिमण्डल र नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीहरु बीच आइतबार वृहत रुपमा छलफल भएको छ । छलफलमा बैंकहरुलाई ब्रोकर लाईसेन्स, मार्जिन कर्जा र मार्जिन कल, मार्जिन कर्जाको ब्याजदर, हकप्रद र बोनसमामार्जिन गणना गर्ने बिधि, बित्त र धितोपत्र बजारका समस्या समाधानमा सहकार्य गर्ने बिषयमा बैंकर्सहरुको ध्यानाकर्षण गरिएको बताइएको छ । साथै सेयर बजारलाई व्यवस्थित गर्ने सन्दर्भमा दुवै पक्षबीच गम्भीर छलफल भइको छ । 

फोरमका तर्फबाट अध्यक्ष अम्बिका प्रसाद पौडेलले सेयर बजारलाई व्यवस्थित गर्ने तथा कार्यक्षेत्र विस्तार गर्ने सन्दर्भमा बैंकलाई ब्रोकरेज सेवाको अवसर दिनुपर्ने, सेयर कर्जालाई बैंक तथा वित्तीय संस्थाहरुले लगानीको एउटा क्षेत्रको रुपमा लिई सोही बमोजिम लगानी विस्तार गर्नुपर्ने, सेयर कर्जालाई अतिरिक्त तरलता ब्यबस्थापन गर्ने क्षेत्रको रुपमा नलिई लगानीको एउटा सुरक्षित तथा पुँजी निर्माणको आधार क्षेत्रको रुपमा लिनुपर्ने धारणा राखे । त्यस्तै उनले सेयर कर्जामा सबैभन्दा बढी १५० प्रतिशतको जोखिम भारितमा राख्ने व्यवस्थालाई तत्काल १०० मा ल्याउनको लागि संयुक्त रुपमा पहल गर्ने, ऋण लिई सकेपछि सुचिकृत कम्पनीहरुले प्रदान गर्ने बोनश तथा हकप्रद सेयर रोक्का नै रहेको अबस्थामा मूल्यांकनको आधार बुक क्लोज हुने दिन कायम रहेको मूल्यलाई मानी सोहीअनुसार मात्र मार्जिन कल गर्नुपर्ने बताए ।

विगत केही दिनयता विभिन्न व्यक्तितथा संस्थाहरुले पुँजी बजारका बारेमा सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रममा पार्ने उद्देश्यले विभिन्न नकारात्मक टिकाटिप्पणी तथा विश्लेषण गरी पुँजी बजारलाई धराशायी बनाउने काम भइरहेकोमा फोरमको गम्भीर ध्यानाकर्षण भएको छ । सर्वसाधारण लगानीकर्ताहरुलाई यस्ता भ्रमको पछि नलागी विवेकपूर्ण ढंगले लगानीको निर्णय गर्न फोरमले आग्रह गरेको छ । सर्वसाधारणको लगानी डुबाउने भ्रमपूर्ण तथा तथ्यहीन त्यस्ता टिकाटिप्पणी प्रकाशन, प्रसारण र प्रवाह गम्भीर अपराध भएकोले त्यस्तो पक्षलाई कडा कार्बाही गर्न पनि सम्वन्धित निकायहरुलाई आग्रह गरेको छ ।