December 29th, 2017

साताको चारै दिन घट्यो सेयर बजार, कारोबार बढ्दो क्रममा

बैंकिङ खबर । यो साता चार दिन कारोबार भएकोमा चारै दिन सेयर बजार घटेको छ । आइतबार ४.४७ अंकले मात्रै घटेको बजार मंगलबार, बुधबार र विहीबार दोहोरो अंकले घट्यो । फलस्वरु, गत साताको अन्तिम दिन १४७२.१५ अंकमा बन्द भएको बजार यो साता १४१४.७८ अंकमा कायम भएको छ । यस आधारमा हेर्दा, यो साता सेयर बजार ५७.३७ अंकले घटेको देखिन्छ । 

कारोबार रकम भने यो साता बढ्दो क्रममा देखिएको छ । आइतबार झन्डै ५६ करोडको कारोबार भएको बजारमा बुधबार ५४ करोडको मात्रै कारोबार भयो भने बुधबार र विहीबार कारोबार बढ्यो । बुधबार साढे ७६ करोड र विहीबार ८१ करोड ६९ लाख रुपैयाँको कारोबार भयो । समग्रमा, चार दिनमा दुई अर्ब ६८ करोड २६ लाख ४२ हजार तीन सय १० रुपैयाँको सेयर कारोबार भएको छ । गत साता पाँच दिनमा दुई अर्ब ५४ करोडको कारोबार भएको थियो । 

स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल टेलिकमको सेयरमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको मात्रै ५० करोडको हाराहारीमा कारोबार भएको छ भने नेपाल टेलिकमको २३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । एभरेष्ट बैंक, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको पनि राम्रो कारोबार भएको छ । 

बजार गिरावटको क्रममा रहँदा यो साता कमाउनेभन्दा गुमाउने लगानीकर्ता बढी रहे । महुली सामुदायिक लघुवित्तका सेयरधनीले कमाउनेमा अगाडी रहे । सिन्धु विकास बैंक, नयाँ नेपाल लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, सहयोगी विकास बैंक लगायतका सेयरधनीले गुमाएका छन् ।