सुष्मा थापा/बैंकिङ खबर । शाखा संजाल विस्तारमा बैंकहरुबीच प्रतिष्पर्धा भइरहँदा विकास बैंकहरु पनि कतिपय वाणिज्य बैंकको टक्करमा पुगेका छन् । केही वाणिज्य बैंकहरुको शाखा संख्या त विकास बैंकहरुको भन्दा पनि कम रहेको छ । कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल बैंक, एनआईसी एशिया बैैंक, ग्लोबल आईएमई बैंक, एनएमबि बैंक, जनता बैंक, सेञ्चुरी बैंक र सिद्धार्थ बैंक शाखा विस्तारमा अगाडी रहेका छन् । बाँकी १७ बैंकमध्ये, केही बैंक शाखा विस्तारमा विकास बैंकभन्दा पनि पछाडि छन् भने केही विकास बैंकसरह नै रहेका छन् ।
विकास बैंकका शाखा वाणिज्य बैंक सरह
विकास बैंकहरुमध्ये, मुक्तिनाथ विकास बैंकको सबैभन्दा धेरै ७२ वटा शाखा संचालनमा रहेका छन् । त्यसपछि महालक्ष्मी विकास बैंकले हालसम्म पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म ७० वटा शाखा विस्तार गरिसकेको छ । त्यस्तै, लुम्बिनी विकास बैंकको शाखा संख्या कुल ६० वटा रहेका छ । गण्डकी विकास बैंकले ५३ वटा शाखामार्फत सेवा दिइरहेको छ ।
पोखराबाट हालै काठमाडौँको लाजिम्पाटमा सरेको गरिमा विकास बैंकले ४९ शाखा विस्तार गरिसकेको छ । कैलाश विकास बैंक लिमिटेडका कुल ४१ शाखा कार्यालय छन् भने सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कुल ३५ शाखा रहेका छन् । पोखरामा नै केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंकले ४१ शाखा विस्तार गरेको छ । पोखरामा नै रहेको ओम डेभलपमेन्ट बैंक लिमिटेडले कुल ४१ शाखा संचालनमा ल्याइसकेको छ । देवः विकास बैंकले ४० वटा शाखा विस्तार गरिसकेको छ । ज्योति विकास बैंकका कुल ४६ शाखा संचालनमा छन् । मेगा बैंकमा गाभिन लागको टुरिजम डेभलपमेन्ट बैंकका ३५ शाखा छन् ।
विकास बैंकसरह शाखा रहेका वाणिज्य बैंकहरु
केही वाणिज्य बैंकहरुको शाखा संजाल ठूला विकास बैंकहरुसरह नै रहेको छ । विकास बैंकहरुले ७०भन्दा बढी शाखा विस्तार गरिसक्दा ७० कै हाराहारीमा शाखा विस्तार गरेका एक दर्जन बैंक छन् । एनसीसी बैंकका ७८, कुमारी बैंकका ७५ र लक्ष्मी बैंकका ७४ शाखा छन्, जुन उच्चतम शाखा संख्या भएको मुक्तिनाथ विकास बैंकको तुलनामा थोरैमात्रै बढी हो । यसबाहेक, बैंक अफ काठमाण्डूको ७१ र सनराइज बैंकको ७१ शखा संचालनमा रहेका छन् । नेपाल एसबीआई बैंकले लिमिटेडले ६८ वटा शाखा विस्तार गरेको छ भने सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कुल ६६ वटा शाखा संचालनमा छन् । एभरेष्ट बैंकका ६५, नविल बैंकका ६२, माछापूछ्रे बैंकका ६२ र नेपाल इन्भेष्टमेन्ट बैंकका ६१ वटा शाखा संचालनमा रहेका छन् । त्यस्तै, सिभिल बैंकको ५२ र प्राइम बैंकको ५१ शखा संचालनमा छन् ।
विकास बैंकभन्दा कम शाखा भएका बैंकहरु
विकास बैंकहरुकै शाखा औसतमा ५० पुगिसकेको अवस्थामा पाँच वटा वाणिज्य बैंकको शाखा ५०भन्दा पनि कम रहेका छ ।
काठमाडौँ उपत्यकाभित्र ३६ र बाहिर १४ गरी नेपाल बंगलादेश बैंक लिमिटेडको कुल शाखा संख्या ५० पुगेको छ भने काठमाडौँ उपत्यकाभित्र १७ र उपत्यकाबाहिर ३१ गरी हिमालयन बैंक लिमिटेडका कुल ४८ वटा शाखा संचालनमा रहेका छन् । उपत्यकाभित्र १४ र उपत्यकाबाहिर ३३ गरी सानिमा बैंक लिमिटेडका ४७ वटा शाखा संचालनमा रहेका छन् । हालसम्म मेगा बैंक लिमिटेडले ४४ वटा शाखा विस्तार गरेको छ । जसमध्ये, ३४ वटा शाखा उपत्यकाबाहिर रहेका छन् भने १० वटा शाखा काठमाडौँ उपत्यकाभित्र रहेका छन् ।
सन् १९८७ मा नेपाल प्रवेश गरेको यस बहुराष्ट्रिय बैंकले हालसम्म नेपालमा १४ वटा शाखा सञ्चालनमा ल्याएको छ । जसमध्ये, सबैजसो शाखाहरु सहरी भेगमा मात्रै छन् । चार वटा शाखा काठमाडौँ उपत्यकाभित्र रहेका छन् भने अन्य शाखा पोखरा, विराटनगर, विरगञ्ज, नेपालगञ्ज, चितवन, बुटवल र धरान जस्ता ठूला सहरहरुमा मात्रै रहेका छन् । बैंकिङ पहुँच नपुगेका स्थानीय तहहरुमा शाखा खोल्न पनि यो बैंकले आनाकानी गरिरहेको छ ।