बैंकिङ खबर । साताको पहिलो दुई दिन घटेको सेयर बजार मंगलबार र बुधबार बढेपनि विहीबार पुनः सामान्य अंकले घटेर बन्द भयो । साताको सुरुवात १५३६.५४ अंकबाट गरेको सेयर बजार अन्तिम दिन १५२०.१५ अंकमा कायम भएको छ । यस आधारमा हेर्दा, यो साता सेयर बजार १६.३९ अंकले घटेको देखिन्छ ।
परिसूचकबाट घटबढ भइरहँदा कारोबार रकममा पनि उतारचढाव आएको छ । आइतबार ८४ करोडमाथिको कारोबार भएको बजारमा सोमबार ४६ करोड, मंगलबार झन्डै ६७ करोड र बुधबार साढे ४८ करोडमाथिको कारोबार भएको छ । विहीबार ४५ करोडको कारोबार भएको छ । समग्रमा, साताभरमा दुई अर्ब ९१ करोड ९८ लाख ८८ हजार एक सय छ रुपैयाँको सेयर कारोबार भएको छ ।
सय प्रतिशत बोनस सेयर घोषणा गरेको स्टान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । ग्लोबल आईएमई बैंक, राष्ट्रिय बीमा कम्पनी, नेपाल टेलिकम, बुटवल पावर कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको राम्रो कारोबार भएको छ । कालिका माइक्रोक्रेडिट, बोटलर्स नेपाल, कुबेर मर्चेन्ट बैंकिङ, ललितपूर फाइनान्स लगायतका सेयरधनीले कमाएका छन् भने प्रोग्रेसिभ फाइनान्स, राष्ट्रिय बीमा कम्पनी लगायतका सेयरधनीले गुमाएका छन् ।