Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

केके भए यो साता बैंकिङ क्षेत्रमा ? हेर्नुहोस् नौ बुँदामा

२०७४ मंसिर २९ गते

बैंकिङ खबर । हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व
नेपाल लघुवित्त बैंकर्स एसोसिएसनको अध्यक्षमा रामचन्द्र जोशी चयन भए । संघको बिहीबार सम्पन्न ११औं वार्षिक साधारणसभाबाट जोशी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । साधारणसभाबाट उपाध्यक्षमा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा चयन भएका छन् । यसैगरी एसोसिएसनको महासचिवमा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्साल, सचिवमा नेसनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र कोषाध्यक्षमा मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाल चयन भएका छन् । कार्य समिति सदस्यहरुमा भने ग्रामीण विकास बैंकका पर्वत कार्की, फष्र्ट माइक्रोफाइनान्सका भेषराज पन्थी, किसान माइक्रोफाइनान्सका इन्द्रकुमार शाह, समिट माइक्रोफाइनान्सका देबेन्द्र बस्नेत, मिथिला लघुवित्तका गोविन्द चापागाँई र एनएमबी माइक्रोफाइनान्सका तिर्थरत्न कोनाजु सर्वसम्मत चयन भएका छन् ।

बेष्ट र सिनर्जीबीचको एक्विजिसनलाई सैद्धान्तिक स्वीकृति
हालै समस्याग्रस्त वित्तीय संस्थाको सूचिबाट फुकुवा भएको बेस्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गर्यो । साबिकको जनरल फाइनान्सले समस्याग्रस्तबाट फुकुवा भएपछि नाम परिवर्तन गरी बेस्ट फाइनान्सको नामबाट कारोबार गरिरहेको छ । सेयर आदनप्रादन अनुपात (स्वाप रेसियो) दुबै संस्थाको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) पछि तय हुने बताइएको छ । दुई कम्पनीबीच प्राप्तिपछि कम्पनीको नाम बेष्ट फाइनान्स रहने र अध्यक्षमा बेष्ट फाइनान्सका अध्यक्ष पदमराज न्यौपानेले नै निरन्तरता पाउने सम्झौता भएको छ । प्रमुख कार्यकारी अधिकृतमा भने सनर्जी फाइनान्सका बिनितमणि उपाध्याय रहने भएका छन् । सिनर्जीलाई अबको पाँच महिनाभित्र प्राप्ती गरिसक्ने बेस्ट फाइनान्सको योजना रहेको छ । 

प्रभु लाइफ इन्स्योरेन्सको सुरुवात
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विहिवारदेखि कारोबार सुरु गर्यो । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक सेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै चालिस करोड रुपैयाँ बराबरको साधरण सेयर जारी गर्नेछ । कम्पनीले अमूल्य जीवन बीमा र समृद्ध जीवन बीमा योजना सुरु गरेको छ । 

सेयर कारोबारमा भ्याटको विरोध
सेयर ब्रोकरहरुलाई लगाइएको भ्याटसम्बन्धी विवाद फेरि सुरु भयो । करदाता सेवा कार्यालयले धितोपत्र दलाल व्यवसायीहरुलाई मूल्य अभिबृद्धि कर निर्धारण गरी मिति २०७४।०८।२५ सम्मको जरिवाना, ब्याज तथा थप दस्तुर गणना गरी अन्तिम कर निर्धारण आदेश र मूल्य अभिबृद्धि कर प्रयोजनको लागि दर्ता भई कारोबार गर्नु भन्ने निर्देशन जारी गरेपछि सेयर बजारसँग सम्बद्ध सरोकारवालाहरुले विरोध गरेका छन् ।

मिर्मिरे माइक्रोफाइनान्सको कार्यक्षेत्र विस्तार
मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको कार्यक्षेत्र विस्तार भयो । यसअघि १५ जिल्लालाई कार्यक्षेत्र बनाएर लघुवित्त सेवा प्रदान गर्दै आएको मिर्मिरेले अब थप १० जिल्लासहित २५ जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा दिने भएको हो । मिर्मिरे माइक्रोफाइनान्सले बिभिन्न १५ जिल्लामा ३३ वटा शाखा कार्यालयहरुबाट लघुवित्तको मर्म मुताविक स्वस्थ प्रतिस्पर्धाबाट विपन्न वर्गका ब्यक्तिहरुलाई आर्यआर्जन, स्वरोजगार र उद्यमशिलतामा समाहित गराई सहज र सरल तवरले लघुवित्तीय सेवा प्रदान गरिरहेको थियो । अब मिर्मिरे माइक्रोफाइनान्सले सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ्ग, सिन्धुली, सुर्खेत, बारा, पर्सा, रुपन्देही, बाँके र कैलाली गरी १० जिल्लामा समेत शाखा कार्यालयहरु विस्तार गरी लघुवित्त सेवा प्रदान गर्नेछ ।

लक्ष्मी बैंकको नयाँ बचत खाता योजना
लक्ष्मी बैंक लिमिटेडले नयाँ बचत खाता योजना संचालनमा ल्यायो । “लक्षित मुद्दती” (रिकरिङ्ग डिपोजिट) नामक यस योजना नियमित आम्दानी हुने ग्राहकहरुको लागि मासिक बचतमा उच्चतम व्याज प्राप्त गर्न सकिने विकल्पको रुपमा प्रस्तुत गरिएको बैंकले जनाएको छ । यो खातामा ग्राहकहरुले मासिक न्यूनतम पाँच सय रुपैयाँ वा सोभन्दा बढि जम्मा गर्न सक्नेछन् । । ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि सो रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने गर्दछ । एक वर्षदेखि पाँच वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ । साथै लक्षित मुद्दती खाता खोल्ने सबै ग्राहकहरुले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा समेत प्राप्त गर्न सक्नेछन् । सबै नयाँ तथा पुराना ग्राहकहरुले “लक्षित मुद्दती” को प्रारम्भीक योजना अन्र्तगत वार्षिक नौ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन् ।

कृषि विकास बैंकमा घोटाला गर्ने आरोपी पक्राउ
कृषि विकास बैंकको न्युरोड शाखामा अनियमितता गरेको आरोपमा तीन जना पक्राउ परे । प्रहरीले न्यूरोड शाखामा कार्यरत शाखा प्रमुख गोपाल गिरी, कर्जा विभागका प्रमुख महेश्वर मरहठ्ठा र शाखा प्रबन्धक प्रेमहरि ढुङगेललाई पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले केही समय अगाडि  करिब पाँच करोड रुपैयाँ घोटालाको अनुसन्धानका क्रममा बैंकमा कार्यरत सहायक टेलर दीपिका रेग्मी र रमेश थापालाई पक्राउ गरेको थियो । 

अल्पाइन र सेतीको सेञ्चुरीमा विलय
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले “ख” वर्गको अल्पाईन डेभलपमेन्ट बैंक लिमिटेड र “ग” वर्गको सेती फाईनान्स लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गरी आइतबार (मंसिर २४ गते)देखि एकीकृत कारोबार सुरु गर्यो । काठमाडौँमा आयोजित एक समारोहका बीच गभर्नर डा. चिरंजीबि नेपालले एकीकृत कारोबारको शुभारम्भ गरे । अल्पाइन र सेतीलाई खरिद गरेपछि सेञ्चुरी कमर्सियल बैंकको चुक्तापुँजी सात अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको निक्षेप ४९ करोड रुपैयाँ, कर्जा लगानी ४५ अर्ब रुपैयाँ र शाखा संख्या ८५ पुगेको छ । चुक्तापुँजी आठ अर्ब पुर्याउनका लागि बैंकले गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गर्ने बताएको छ । निकट भविष्यमा नै थप शाखा विस्तार गरी शाखा संख्या संख्या एक सय पुर्याउने बैंकको योजना छ ।

अन्य,
‘आइएमई छक्का–पञ्जा’ अफरको अन्तिम नतिजा सार्वजनिक भयो ।
सनराइज बैंक लिमिटेडले आफ्नो १७ औँ शाखारहित बैंकिङ्ग सेवा सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका वडा नं. ३, छिन्नमस्ता भगवतीमा सुरु गर्यो ।
कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले कृष्णपुर नगरपालिका वडा न. —०५ गुलरिया बजारमा १४औं शाखा विस्तार गर्यो ।
ओम डेभलपमेन्ट बैंक लिमिटेडले जर्मनीको केएफडब्लु डेभलपमेन्ट बैंकसँग भएको सभ्झौता अनुसार  Sustainable Economic Development in Rural Areas, Nepal कर्जा लगानी शुरु गर्यो ।
गण्डकी विकास बैंक लिमिटेडले काठमाडौँ स्थित सामाखुशी शाखाको औपचारिक उद्घाटन गर्यो ।
ग्लोबल आइएमई बैक लिमिटेड र मेटलाईफ इन्सोरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भयो ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दाङको बंगलाचुलीमा नयाँ शाखा संचालनमा ल्यायो ।