बैंकिङ खबर । बुटवल पावर कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले थप सेयर (एफपिओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त गरेका छन् । बोर्डले दुवै कम्पनीलाई मंसिर १८ गते स्वीकृति प्रदान गरेको हो ।
बुटवलले प्रतिकित्ता पाँच सय एक रुपैयाँमा एफपिओ निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्काशन गर्दैछ । जसमध्ये, पाँच प्रतिशत अर्थात दुई लाख चार हजार ५० कित्ता सेयर आँधिखोला जलविद्युत केन्द्र र झिमरुक जलविद्युत केन्द्र आसपासका स्थानीयलाई छुट्याइएको छ । कम्पनीले सेयर निष्काशन तथा विक्री बिक्री प्रबन्धकको जिम्मा एनएमबि क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल लिमिटेडले पाएका छन् । एफपिओबाट संकलित रकम निर्माणाधीन आयोजनामा लगानी गरिने बताइएको छ । कम्पनीले ३० मेगावाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना निमार्ण गर्ने घोषणा गरेको छ । यी आयोजना विदेशी साझोदार तथा स्वदेशी साझेदारसँगको सहकार्यमा सन् २०२० सम्म सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ । साथै बीपीसी एक सय मेगावाटको मनाङमस्र्याङ्दी आयोजनाको अनुमति लिने क्रममा रहेको छ भने ८५ मेगावाटको चिनीखोला साना जलविद्युत आयोजना सम्भाब्यता अध्ययन पूरा गरिसकेको छ ।
त्यस्तै, प्रिमियर इन्स्योरेन्सले प्रतिकित्ता सात सय ९९ रुपैयाँका दरले एफपिओ निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले छ लाख ५९ हजार पाँच सय ६५ कित्ता एफपिओ निष्काशन गर्दैछ । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाल प्रिमियरको चुक्ता पूँजी ४४ करोड ८५ लाख रुपैयाँ रहेको छ । जसमा संस्थापक तर्फको ६० प्रतिशत सेयर स्वामित्व रहेको छ भने सर्वसाधारण तर्फको ४० प्रतिशत रहेको छ । कम्पनीले एफपिओ निष्काशन पछि सेयर संरचना संस्थापकतर्फ ५३ प्रतिशत र सर्वसाधारणतर्फ ४७ प्रतिशत हुने छ भने चुक्तापुँजी ५१ करोड रुपैयाँ पुग्नेछ ।


