बैंकिङ खबर । आइतबार र सोमबार सामान्य अंकले घटेको सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट देखिएको छ । उत्पादनमूलकबाहेक सबै उपसूचक राताम्मे हुँदा नेप्से परिसूचक १७.५४ अंकले घटेर १५१०.२१ अंकमा कायम भएको छ । कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ ।
बीमा समूह सबैभन्दा धेरै १६६.१७ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, अन्य र लघुवित्त क्रमशः १३.८२, ३.३, ४७.८३, २२.८१, ८.७८, १.५२, ७.५२ र २०.६३ अंकले घटेका छन् । उत्पादनमूलक भने ६.४२ अंकले बढेको छ ।
सोमबारको भन्दा झन्डै साढे २० करोड रुपैयाँ बढीको कारोबार भएको छ । दिनभरिमा १५७ वटा कम्पनीको ११ लाख ८० हजार पाँच सय ६३ कित्ता सेयर चार हजार नौ सय ५२ पटक खरिदविक्री हुँदा ६६ करोड ९२ लाख ११ हजार एक सय ८१ रुपैयाँको कारोबार भएको छ । सोमबार ४६ करोड ४५ लाख रुपैयाँको कारोबार भएको थियो ।
कुल कारोबारमध्ये, ग्लोबल आईएमई बैंक र राष्ट्रिय बीमा कम्पनी प्रोमोटरको झन्डै छ करोड रुपैयाँको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको तीन करोड ९६ लाख र प्राइम लाइफ इन्स्योरेन्स प्रोमोटरको तीन करोड ८० लाख रुपैयाँको कारोबार भएकोा छ । नेपाल बैंक र नेपाल टेलिकमको पनि तीन करोडमाथिको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी, बुटवल पावर कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
जम्मा २८ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै काबेली विकास बैंक र खानीखोला हाइड्रोका सेयरधनीले क्रमशः ८.६४ र ५.१६ प्रतिशतका दरले कमाएका छन् । सूर्यादय लघुवित्त, महुली सामुदायिक लघुवित्त, बोटलर्स नेपाल, नेपाल हाइड्रो, गोर्खाज फाइनान्स, युनाइटेड मोदी हाइड्रो, ललितपूर फाइनान्स, नेरुडे लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर र राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले क्रमशः ५.८४ र ५.८७ प्रतिशतका दरले गुमाएका छन् । प्रुडेन्सियल इन्स्योरेन्स, वरियन्टल होटल्स, मेरो माइक्रोफाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, हिमालयन जनरल इन्स्योरेन्स, नयाँ नेपाल लघुवित्त, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, बरुण हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।




