बैंकिङ खबर । चुनावपछिको पहिलो कारोबारको दिन सेयर बजार ६.०५ अंकले घटेर १५३०.४९ अंकमा कायम भएको छ । बीमा समूह सबैभन्दा धेरै ७२.८२ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र लघुवित्त समूह क्रमशः ३.७९, १४.७८, ५.४७, १३.७२, ८.४५ र २०.३४ अंकले घटेका छन् । व्यापार समूह स्थिर रहेको छ भने उत्पादनमूलक र अन्य समूह क्रमशः ४०.२४ र २.०३ अंकले बढेका छन् ।
दिनभरिमा १५८ वटा कम्पनीको १२ लाख १२ हजार सात सय ८० कित्ता सेयर छ हजार पाँच सय ७१ पटक खरिदविक्री हुँदा ८४ करोड ७० लाख ७० हजार ८० रुपैयाँको कारोबार भएको छ । १०० प्रतिशत बोनस दिने घोषणा गरेको स्टान्डर्ड चार्टर्डको मात्रै झन्डै २७ करोडको कारोबार भएको छ । बुटवल पावर कम्पनीको पाँच करोड, नेपाल टेलिकमको झन्डै चार करोड तथा नेपाल बैंक र चिलिमे हाइड्रोको अढाई करोडमाथिको सेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ ।
आइतबार बेटलर्स नेपालका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । महुली सामुदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स, एभरेष्ट बैंक सीपी, स्टान्डर्ड चार्टर्ड बैंक, ज्योति विकास बैंक, सिभिल लघुवित्त, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, प्रभु बैंक प्रोमोटर लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, सेन्ट्रल फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.७१ प्रतिशतका दरले गुमाएका छन् । लक्ष्मी लघुवित्त, गण्डकी विकास बैंक, वरियन्टल होटल्स, खानीखोला हाइड्रो, मिसन डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, युनाइटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, डिप्रोस्क डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

