Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सन्त्रास नक्कली नोटको : यसरी सुरु भयो कारोबार

admin २०७४ मंसिर २२ गते
सेयर:

बैंकिङ खबर । कुनैपनि देशमा नोट छपाई तथा निष्काशनको कानुनी अधिकार त्यस देशको सरकार वा केन्द्रिय बैंकलाई मात्र हुन्छ । कानुनी अधिकार प्राप्त नगरी कुनै व्यक्ति, संस्था वा निकायले कुनै पनि प्रकारले गैरकानुनी तवरबाट ठगी गर्ने मनसायले बनाएको नोटको प्रतिलिपीलाई जाली नोट भनिन्छ । मुलुकी ऐनको खोटा चलनको महल (१) ले जाली नोटको सम्बन्धमा “सरकारी टक लागेको सिक्का, नोट इत्यादी स्थिति चलनका कुरा कसैले बाहिर टकमारी छाप नम्बर, निशाना इत्यादी बनाउन लगाएमा बनाउन उद्योग  गर्न र त्यस्ता माल कसैले जानी जानी खरीद गरेमा खोटा चलन गरेको ठहर्छ “ भनि ब्याख्या गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ६ को दफा ५२ ले नोट तथा सिक्काको छपाई गरि निसष्काशन गर्ने एकाधिकार नेपाल राष्ट्र बैंकलाई प्रदान गरेको छ । यस बाहेक अरु कसैले जालसाँजी वा किर्ते गरी वा रुप फेरी वा अन्य कुनै प्रकारले नोट बनाएमा त्यस्ता नोटहरु जाली अथवा नक्कली हुन् ।

नेपालमा जाली नोटको सुरुवात
हाम्रो देशमा कहिलेदेखि जाली नोट देखापर्यो भन्ने कुराको कुनै प्रमाण नभए पनि  वि.सं. २०२५।२६ तिर गभर्नर डा. यादवप्रसाद पन्तको हस्ताक्षर भएको रु. ५ दरको नोटसँग मेल खाने नोट बजारमा ल्याइएको थियो भन्ने कुरा पुराना मुद्रा संग्रहकर्ताको भनाइ छ । उनका अनुसार गैह्रिधारा नाम नखुलेको एक व्यक्तिलाई प्रहरीले समाति थुनेको पनि थियो । त्यसैगरी वि.सं. २०३६।३७ तिर सिद्धार्थनगरमा गभर्नर कुलशेखर शर्माका हस्ताक्षर भएका रु. १०० दरका जालीनोट बजारमा देखापरेको थियो भनिएको छ । केहीबर्ष अघिसम्म भारतीय जाली नोटहरुको कारोबार अत्याधिक मात्रामा रहेको थियो । यसको तुलनामा नेपाली जाली नोटहरु कमै भेटिन्थे । तर, पछिल्ला समयमा संघठित गिरोहहरुले नेपाली जाली नोटहरुको कारोबार पनि बढाएको छन् । हाल बजारमा अत्याधिक रुपमा रु. ५०० र रु. १००० दरका तथा नगन्य मात्रामा रु.१०० दरका जाली नोटहरु देखा परिरहेका हुन्छन् । 

जाली नोटको विगविगी
पछिल्लो समय नक्कली नोटको बिगबिगी बढेको पाइएको छ । चुनावको मौका छोपेर पर्वतका विभिन्न वित्तीय संस्था तथा ग्रामीण भेगहरूमा नक्कली नोटको प्रयोग गरिएको पाइएको छ । केही साता अघि मात्रै बागलुङ र म्याग्दीमा पनि नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय हुन थालेको पाइएको थियो । बैंक तथा वित्तीय संस्था, किनारा पसल लगायत दैनिक कारोबार हुने स्थानहरुमा छ्याप्छ्याप्ती नक्कली नोट भेटिन थालेपछि सो अनुमान गरिएको हो । यसबाहेक, पछिल्ला केही वर्षहरुमा गोरखा, पोखरा, धरान, रौताहट, बुटवल, झापा लगायतका क्षेत्रहरुमा नक्कली नोट फेला परेको समाचारहरु आएका थिए । बढी भिडभाड हुुने क्षेत्र, जुवाको खाल, हाटबजार, इँटा भट्टाका मजदुरलाई ज्याला दिँदा, गाउँघरमा खसी–बोका किन्दा, होटल र भारतीय बजारमा लागू औषध तथा इन्धन खरिद हुने क्षेत्रमा नक्कली नोटको बढी प्रयोग हुने गरेको एक अध्ययनले देखाएको छ ।

यसरी छापिन्छन् नक्कली नोट
नक्कली नोट छपाईका लागि कतिपयले फोटोकपिको प्रयोग गर्ने गरेका छन् । यद्यपि, यसरी फोटोकपि गरिएका नोटहरु नक्कली भनेर पत्तत्रा लगाउन सजिलो हुने गर्दछ । त्यसैले, पछिल्लो समय आफैँ मेसिन राखेर नोट प्रिन्ट गर्नेको संख्या बढिरहेको छ । केही समयअघि, सामाजिक संस्थाले नै नक्कली नोट छपाईको धन्दा गरिरहेको पत्ता लागेको थियो । नवदिपपथ अर्फन हेल्पिङ हेन्ड’ नामको कार्यालय सञ्चालन गर्दै आएका सन्तोष मल्लको कार्यालय र डेरामा खानतलासी लिने क्रममा नक्कली नोट तयार गर्ने फ्रि ईन्क प्रिन्ट मेसिन, ल्यापटप र नक्कली नोट लगायतका सामानहरु बरामद गरिएको थियो । 


कानुनी ब्यबस्था
नेपाल राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ११ दफा ९५ बमोजिम जाली खोटो, नक्कली वा प्रतिलिपि मुद्रा जारी गरेमा वा त्यस्तो मुद्रा वितरण वा लेनदेन गरेमा सो ऐन अनुसार कसुर गरेको मानिन्छ । त्यसैगरी त्यसो कसुर गर्ने कुनु व्यक्ति वा त्यस्ता व्यक्तिलाई कुनै किसिमको सहयोग गर्ने व्यक्तिलाई कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तिन गुणासम्म जरिवाना वा दश बर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था मुलुकी ऐनको महल ६ मा व्यवस्था गरिएको छ । त्यसैले, हामी मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले जाली नोट कारोबार गरेको पाएमा सम्बन्धित निकाय या प्रहरीलाई खबर गरी धेरै सर्वसाधारणलाई ठगिनबाट बचाउन सक्छौँ । 

सक्कली या नक्कली नोट : कसरी थाहा पाउने ?
कुनै नोट जाली हो वा होइन भनि पहिचान गर्ने प्रमुख आधार नोटमा रहेको सेक्युरिटी फिचर्स नै हो । सक्कली नोटहरुमा हुने यस्तो फिचर्स जाली नोटहरुमा पाइँदैनन् । केहीमा भएपनि ज्यादै कमशल खालको हुने हुँदा छुट्याउन सकिन्छ । केन्द्रिय बैंकले नै आफूले जारी गर्ने नोटहरुमा सकभर जाली बनाउन नसक्ने र बनाएमा पनि सहजै छुटाउन सकिने खालका यस्ता फिचर्सहरु राखेको हुन्छ । जाली नोट परिक्षण गर्न सुरक्षात्मक उपायहरुका माध्यमबाट केन्द्रिय बैंकको नीति र निर्देशनको अधिनमा रही विभिन्न तालिम, गोष्ठी तथा कार्यपत्र प्रस्तुति मार्फत बैंक तथा बित्तिय संस्था र नोटकोष रहेका बैंकहरुलाई दिने निर्देशन बमोजिम ब्यबहारिक ज्ञानका माध्यमबाट परिक्षण गरी सक्कली वा नक्कली नोट छुट्टाउन सकिने हुन्छ । यसबाहेक बैंक तथा बित्तिय संस्था तथा मुद्राको कारोबार हुने स्थानहरुमा म्यानिफाइङ ग्लास, स्टेप वाचर, अल्ट्रा भ्वायोलेट लाइट, फ्लोरिसिन इंकजस्ता उपकरणको माध्यमबाट परिक्षण गरी सक्कली वा जाली नोट छुट्टाइन्छ ।

यसबाहेक आफैँ पनि कुनै पनि नोट जारी हो या होइन भन्ने जान्न सकिन्छ । यसरी आफैँले जाली नोट थाहा पाउन सके ठगीबाट बच्न सकिन्छ । हेर्नुस्, जाली नोट चिन्ने ७ सहज तरिका :  

सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खड खड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ । 
सक्कली नोटको कागज स्तरीय, अलि खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो, लुलो र मोटो हुन्छ । जाली नोट सक्कली नोट जस्तो चहकिलो पनि हुँदैन ।
सक्कली नोटको रंग स्पष्ट र सफा गाढा हुन्छ भने जाली नोट हल्का, अस्पष्ट र फुङ्ग उडेको जस्तो देखिन्छ ।
सक्कली नोटलाई उज्यालो तिर फर्काएर हेरेमा नोटको दायातर्फ रहेको भागमा पानी छाप स्पस्ट देखिन्छ भने जलि नोटमा केहि कालो दले जस्तो अस्पष्ट देखिन्छ ।
सक्कली नोटमा रहेको सुरक्षा धागो नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ भने नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।
नोटको दायातर्फ रहेको सेतो भागको बायातर्फ भएको रंगीन आधा अक्षर नेपाल राष्ट्र बैंकलाई उज्यालोतर्फ फर्काएर हेर्दा नेपाल राष्ट्र बैंक स्पष्ट देखिन्छ भने जाली नोटमा सो अक्षर स्पष्ट देखिँदैन ।
सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाबाया पार्दा एउटा छुटै चहक आउछ भने जाली नोटमा यस्तो हुँदैन ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।