२०७४ मंसिर १३ गते

नेप्सेमा हरियाली : दोहोरो अंकले परिसूचक बढ्दा एक अर्बको कारोबार 

बैंकिङ खबर । बुधबार पनि सेयर बजार दोहोरो अंकले बढेको छ । उत्पादनमूलकबाहेक सबै उपसूचक उकालो लागेपछि नेप्से परिसूचक १२.२६ अंकको वृद्धिसँगै १५३६.१२ अंकमा पुगेको छ । बीमा समूह सबैभन्दा धेरै १००.२४ अंकले बढेको छ । होटल, लघुवित्त र विकास बैंक क्रमशः ५१.३९, ४१.६२ र १३.२२ अंकले बढेका छन् । बैंकिङ, व्यापार, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः ८.५९, २.८८, ९.६१, ५.६४ र ३.१८ अंकले बढेका छन् । उत्पादनमूलक समूह भने ३२.१२ अंकले घटेको छ ।

लामो समयपछि कारोबार रकमले पनि एक अर्ब नाघेको छ । दिनभरिमा १६३ वटा कम्पनीको २० लाख ४५ हजार चार सय ८६ कित्ता सेयर आठ हजार एक सय १६ पटक खरिदविक्री हुँदा एक अर्ब चार करोड ६६ लाख ६१ हजार १५ रुपैयाँको कारोबार भएको छ । मंगलबार ५७ करोडको कारोबार भएको थियो । 

बुटवल पावर कम्पनीको झन्डै सात करोड रुपैयाँको कारोबार हुँदा नेपाल टेलिकम र सानिमा माइ हाइड्रोको पनि छ करोडमाथिको कारोबार भएको छ । चिलिमे हाइड्रोको पाँच करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । एनसीसी बैंक र नेपाल बैंकको चार करोडमाथिको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल लाइफ इन्स्योरेन्सको तीन करोडमाथिको सेयर कारोबार भएको छ । नेपाल ग्रामीण विकास बैंक्, लुम्बिनी जनरल इन्स्योरेन्स लगायतको दुई करोडमाथिको कारोबार भएको छ । 

नागबेली लघुवित्त र रिलायबल माइक्रोफाइनान्सका सेयरधनीले आठ प्रतिशतभन्दा बढीका दरले कमाउँदा आरएसडीसी लघुवित्तका सेयरधनीले ५.२८ प्रतिशतका दरले कमाएका छन् । सिनर्जी पावर, सेन्ट्रल फाइनान्स, सगरमाथा इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, मिर्मिरे माइक्रोफाइनान्स, फस्र्ट माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, हिमालयन डिस्टीलरीका सेयरधनीले ९.९४ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, पूर्णिमा विकास बैंक, कालिका माइक्रोक्रेडिट, कन्काई विकास बैंक, चिलिमे हाइड्रो, एभरेष्ट बैंक सीपी, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, नेपाल हाइड्रो, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स लगायत २६ कम्पनीका सेयरधनीले पनि गुमाएका छन् ।