२०७४ मंसिर ११ गते

सानिमा इक्वीटी फण्डको सार्वजानिक निष्कासन मंसिर १२ गतेदेखि

सानिमा क्यापिटलले मंसिर १२ गतेदेखि सानिमा इक्विटी फण्ड निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले १० करोड २० लाख इकाईको फण्ड निष्कासन गर्न लागेको हो ।

यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत सहज ढङ्गले आवेदन दिन सक्नेछन् । योजनामा न्यूनतम १०० इकाई अर्थात एक हजार रुपैयाँदेखि लिएर अधिकतम २४ लाख ईकाई अर्थात दुई करोड ४० लाख रुपैयाँसम्म लगानी गर्न सक्नेछन् । इकाई खरिदका लागि अधिक माग भएको अवस्थामा प्रचलित धितोपत्र सम्बन्धी कानुनको अधिनमा रहि योजनाको आकारलाई अधिकतम एक अर्व ५० करोड रुपैयाँसम्म पुर्याउन सकिने छ ।

मंसिर १५ गतेसम्म खुला रहने यो बन्दमुखी योजनाको अवधि सात वर्षको हुन्छ । यो निष्काशनपछि नेपाल स्टक एक्सचेन्जमा १३औं सामूहिक योजना सूचीकृत हुनेछ । अहिले ११ वटा सामूहिक योजना सूचीकृत भइसकेका छन् भने सिद्धार्थ क्यापिटलको सूचीकृत हुन बाँकी छ ।