२०७४ मंसिर १० गते

दोहोरो अंकले बढेर १५१४ अंकमा पुग्यो सेयर बजार, २६ कम्पनीका सेयरधनीले गुमाए

बैंकिङ खबर । आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । व्यापारबाहेक सबै उपसूचक उकालो लागेपछि नेप्से परिसूचक २१.०५ अंकको वृद्धिसँगै १५१४.३४ अंकमा पुगेको छ । सबैभन्दा धेरै बीमा समूह ८२.१२ अंकले बढेको छ । त्यसपछि, जलविद्युत्, माइक्रोफाइनान्स, विकास बैंक, बैंकिङ, अन्य र उत्पादनमूलक समूह क्रमशः ६८.५, २८.५२, १८.९७, १८.७, १३.५९ र ८.१८ अंकले बढेका छन् । होटल र फाइनान्स पनि क्रमशः १.४५ र २.७६ अंकले बढेका छन् । व्यापार भने ६.३७ अंकले घटेको छ । 

दिनभरिमा १५५ वा कम्पनीको १० लाख ७४ हजार एक सय ९६ कित्ता सेयर पाँच हजार छ सय ४१ पटक खरिदविक्री हुँदा ५९ करोड चार लाख ४४ हजार नौ सय ११ रुपैयाँको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक र चिलिमे हाइड्रोको क्रमशः छ करोड ८६ लाख, पाँच करोड ५९ लाख र चार करोड १२ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक र बुटवल पावर कम्पनीको दुई करोड तथा नागरिक लगानी कोष, लक्ष्मी बैंक, नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

नयाँ नेपाल लघुवित्तका सेयरधनीले १० प्रतिशत तथा कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले ९.७७ प्रतिशतका दरले कमाउँदा जनउत्थान सामुदायिक लघुवित्त र लक्ष्मी लघुवित्त    का सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रो, छ्याङ्दी हाइड्रो, सिनर्जी पावर र नेपाल हाइड्रोका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीले कमाएका छन् । स्वाबलम्बन विकास बैंक, सगरमाथा इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

जम्मा २६ कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै विशाल बजारका सेयरधनीले ४.८७ प्रतिशतका दरले गुमाएका छन् । एभरेष्ट बैंक सीपी, मिसन डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, रिलायन्स फाइनान्स, जानकी फाइनान्स, कन्काई विकास बैंक, वरियन्टल होटल्स, ग्रीन डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।