Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

फाइनान्सीयल टेक्नोलोजीका पाँच स्वरुप : जसले बनायो सरल बैंकिङ

admin २०७४ मंसिर ४ गते
सेयर:

बैंकिङ खबर  समय परिवर्तन हुँदै जाँदा बैंकको दायरा मोवाइल र कार्डमा साँघुरीएको छ । फिजिकल बैंकिङ करिव करिव अन्त्यतिर उन्मुख छ भने फाइनान्सीयल टेक्नोलोजीले फड्को मारेको छ । प्रस्तुत छ नेपालमा प्रचलनमा रहेका फाइनान्सीयल बैंकिङका पाँच स्वरुपहरु :

ई बैंकिङ
ई बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ई बैंकिङको प्रयोगबाट ब्यालेन्स हेर्ने, खातामा पाएको ब्याज छुट्टै हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, शाखालाई ग्राहकको सन्देश दिने लगायतका सेवा लिन सकिन्छ ।

डेबिट कार्ड 
बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन) बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ । कागजी ‘चेक’ जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा हुने लामो लाइनलगायतका समस्याबाट मुक्त गराउँछ । यो कार्ड हाल चलनचल्तीमा आएको ‘एटिएम’ कार्ड हो ।

क्रेडिट कार्ड 
क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गरिन्छ । ग्राहकले कुनै वस्तु वा सेवा खरिद गरेपछि क्रेडिट कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्नेगरि यो कार्ड जारी गरिएको हो । क्रेडिट कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम बिना व्याज प्रयोग गर्न पाउँछन् । तर त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ । क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । नेपालमा क्रेडिट कार्ड कम्ति रुपमा प्रयोग हुन्छ । बैंकहरूले पनि क्रेडिट कार्ड जारी गर्न खासै चासो देखाएको पाईंदैन । मुलतः बैंकहरुले तिर्न सक्ने क्षमतामा विश्वास जितेका ग्राहकका लागि यो कार्ड जारी गर्दछन् । विकसित देशमा मानिसको उमेर, आय, स्वास्थ्य अवस्था, परिवारलगायतका विभिन्न सूचना भएपछि उसलाई कति सम्म रकम पत्याउन सकिन्छ भन्ने हिसाब निकाल्छन् । नेपालमा यस्तो प्रणालीको विकास भइसकेको छैन ।

मोबाइल बैंकिङ 
बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार देशैभरी विस्तार गर्नका लागि मोबाइल प्रविधि अन्तरगत मोवाइल वा ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिनेगरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउँदै आएका छन् जसलाई मोबाइल बैँकिङ भनिन्छ । मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा मोबाइल बैँकिङ निकै लाभदायक मानिन्छ ।

ब्रान्चलेस बैंकिङ 
अहिले नेपालमा शाखारहित बैंकिङ सेवा निकै प्रभावकारी ढंगबाट संचालित छ । बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।