२०७४ कार्तिक ३० गते

दोहोरो अंकले घट्यो सेयर बजार, जम्मा २६ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । विहीबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार भएका सबै उपसूचक ओरालो लागेपछि समग्र नेप्से परिसूचक १५.७३ अंकले घटेर १४८९.०६ अंकमा कायम भएको छ । सबैभन्दा धेरै बीमा समूह ६९.३३ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य र लघुवित्त क्रमशः १४.८१, १.६, ५२.१७, २६.५८, २४.१५, ४.८९, २४.६९, ३.७६ र १३.७८ अंकले घटेका छन् । 

परिसूचकसँगै कारोबारमा पनि गिरावट आएको छ । दिनभरिमा १५८ वट कम्पनीको नौ लाख ३० हजार चार सय ४७ कित्ता सेयर पाँच हजार सात सय ८५ पटक खरिदविक्री हुँदा ४४ करोड १० लाख पाँच हजार रुपैयाँको कारोबार भएको छ । बुधबार झन्डै ६० करोडको कारोबार भएको थियो । 

नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकको दुई करोड तथा चिलिमे हाइड्रो, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, एलआईसी नेपाल, नागरिक लगानी कोष, शिखर इन्स्योरेन्स र नेपाल ग्रामीण विकास बैंकको एक करोडमाथिको कारोबार भएको छ । नेको इन्स्योरेन्सको ९९ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकको ९७ लाख रुपैयाँको कारोबार भएको छ । 

जम्मा २६ कम्पनीका सेयरधनीले कमाएका छन् । हिमालयन डिस्टीलरीका सेयरधनीले सबैभन्दा धेरै ९.९८ प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावर, रिडी हाइड्रो, जानकी फाइनान्स, एनसीसी बैंक, कुबेर मर्चेन्ट फाइनान्स, समिट माइक्रोफाइनान्स, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, सिटिजन्स बैंक, पोखरा फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, नेपाल हाइड्रो डभलपर्सका सेयरधनीले सबैभन्दा धेरै ४.९६ प्रतिशतका दरले गुमाएका छन् । मल्टिपर्पोज फाइनान्स, कैलाश विकास बैंक, रिलायन्स फाइनान्स, मञ्जुश्री फाइनान्स, युनिलिभर नेपाल, ज्योति विकास बैंक, भार्गव विकास बैंक, अरुण फाइनान्स, ललितपूर फाइनान्स लगाउतका सेयरधनीले पनि गुमाएका छन् ।