Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आधुनिक बन्दै आस्वा प्रणाली, साधारण सेयर किन्न थप सहज

२०७४ कार्तिक २३ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले “धितोपत्र सार्वजनिक निष्काशनको केन्द्रिकृत विद्युतीय सेवा कार्य संचालन निर्देशिका, २०७४” लाई स्वीकृत गरेको छ । केन्द्रीय निक्षेप प्रणालीले सार्वजनिक निष्काशनलाई थप सरल, व्यवस्थीत र पारदर्शी बनाउनका लागि तयार गरेको उक्त निर्देशिकाले सीआस्बालाई प्रविधिमैत्री बनाउँदै धेरै भन्दा धेरै लगानीकर्ता लाभान्वित हुने विश्वास लिइएको छ । अहिले लगानीकर्ताले प्रयोग गरिरहेको आस्वालाई आधुनिक बनाउन सबै सरोकारवालाहरु धितोपत्र बजार, बैंक तथा वित्तीय संस्था, मर्चेण्ट बैंकर र निक्षेप सदस्यहरुसँग अन्तक्र्रिया तथा छलफल गरी निर्देशिका परिमार्जन गरिएको बोर्डले जनाएको छ । त्यसै गरी हितग्राही खाता रुजु गर्नुका साथै सम्पूर्ण निष्काशन प्रक्रियामा संलग्न निकायहरुले प्रदान गर्ने सेवामा एकरुपता कायम गर्ने उद्देश्यले निदेशिका जारी गरिएको बताइएको छ ।

यस्ता छन्, निर्देशिकाका मूख्य विशेषताहरु
धितोपत्र बोर्डद्धारा स्वीकृत गरिएको उक्त निर्देशिकाका निम्न व्यवस्थाहरु गरिएको छ :

  • हितग्राही खाता रुजु गरी केन्द्रीकृत रुपमा प्रविष्टि गर्न मिल्ने, निष्काशन तथा विक्री प्रबन्धकलाई दोहोरो आवेदनको स्थिति जाँचवुझ गर्न आवश्यक विवरण प्राप्त हुने तथा दोहोरो आवेदन प्रमाणित भएको खण्डमा आवेदन रद्द गर्न सकिने, धितोपत्र वाँडफाँट गर्नको लागि अन्तिम विवरण तयार हुने लगायतका विशेषता भएको सी–आस्वा नामको सफ्टवेयर निर्माण गरी आस्वा सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने ।
  • बैंक तथा वित्तीय संस्थाले सी–आस्वा सफ्टवेयर प्रयोग गरी ग्राहकको हितग्राही खाताको विवरणसँग बैंक खाताको विवरण रुजु गर्ने, ग्राहकलाई रजिष्ट्रेशन नम्बर प्रदान गर्ने, ग्राहकबाट प्राप्त आवेदन रुजु गर्ने तथा प्रविष्टि गर्ने, सफ्टवेयरबाट प्राप्त रिपोर्टको आधारमा ग्राहको बैंक खातामा रकम रोक्का राख्ने, डेबिट गर्ने वा फुकुवा गर्ने तथा सोको रिपोर्ट सफ्टवेयरमा प्रविष्टि गर्ने लगायतका कार्य गर्ने ।
  • सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा खाता रहेका ग्राहकले आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्यमार्फत इन्टरनेटमार्फत आवेदन दिन सक्ने ।
  • बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकको खातामा रोक्का रहेको रकममध्ये बाँडफाड भएको सेयर बापतको रकम रकमान्तरण गरी बाँकी रकम फुकुवा गर्ने र निष्काशन तथा बिक्री प्रबन्धकले सडिएससिमा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित ग्राहकको हितग्राही खातामा सेयर हस्तान्तरण गर्ने । 

२०७३ माघदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वामार्फत आवेदन दिने व्यवस्थालाई अनिवार्य गरिएको थियो । हाल ७५ जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाका दुई हजार चार सयभन्दा बढी शाखाहरुले आस्वा सेवा प्रदान गरिरहेका छन् ।