नेपाल ईन्भेष्टर्स फोरमले ब्रोकरहरूलाई मार्जिन कारोबार उपलब्ध गराउने सम्बन्धमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यथासीघ्र निर्देशन दिन आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै फोरमले यस्तो आग्रह गरेको हो । साथमा फोरमले आस्वा लागु भएका देशभरी रहेका सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरूबाट सेयर लिलामी प्रकृयामा सहभागी हुन पाउने ब्यवस्था मिलाउन समेत माग गरेको छ ।
मंगलबार (कात्तिक २१ गते) देखि नेपाल स्टक एक्सचेन्जले अनलाइन कारोबार संचालनमा ल्याउने निर्णय भएकोमा अचानक मिति सारिएकोप्रति इन्भेष्टर्स फोरमले आपत्ति जनाएको छ । ‘कात्तिक २१ गतेदेखि नेपाल स्टक एक्सचेन्जले अनलाइन कारोबार संचालनमा ल्याउने निर्णय भएकोमा आम लगानीकर्ताहरू व्यग्रताका साथ प्रतिक्षारत रहेका अवस्थामा अचानक स्टक एक्सचेन्जबाट मिति पछि धकेलिएको प्रेस विज्ञप्ति जारी गरिएको प्रति नेपाल ईन्भेष्टर्स फोरमको गम्भीर ध्यानकर्षण भएको छ,’ फोरमद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट आम लगानीकर्ताको विश्वासमाथि गम्भीर चोट पुग्न गएको छ ।’ यसरी पूर्व घोषित मिति बमोजिम नियमनकारी निकायहरूको निर्णय कार्यन्वयन नहुने हो भने यसले पुँजी बजार विकास र विस्तारमा बाधा पर्ने भन्दै फोरमले छिटै नै अनलाइन कारोबार प्रणाली संचालनमा ल्याउन माग गरेको छ ।
नेपाल ईन्भेष्टर्स फोरमले नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले गरेका निम्न कार्यहरुप्रति आभार समेत प्रकट गरेको छ :
१. नेपाल धितोपत्र बोर्डले हकप्रद सेयरको आवेदनमा आस्वा प्रणाली अवलम्बन गर्ने र हकप्रद सेयर बिक्रीमा लिलाम बढाबढबाट बिक्री गर्नका लागि उपत्यका बाहिरका केही सहरहरूबाट समेत गर्न सकिने व्यवस्था गरिएको ।
२. हालै मात्र नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीहरू मार्फत लगानीकर्ताहरूमा मार्जिन कारोबारको सुबिधा उपलब्ध गराउने निर्णय गरिएको ।
३. नेपाल स्टक एक्सचेन्जले विकास बैंक र लघुवित्त विकास बैंकको उपसुचकहरू फरक–फरक बनाई पारदर्शी बनाउने निर्णय गरिएको ।


