बैंकिङ खबर । गत सातादेखि नै ओरालो गतिमा रहेको सेयर बजार यो साताभर नै घटेको छ । साताको सुरुवात नै दोहोरो अंकको गिरावटबाट गरेको सेयर बजार अन्तिम दिनसम्म पनि निरन्तर घटिरह्यो । फलस्वरु, गत साताको अन्तिम दिन १५५३.७२ अंकमा रहेको नेप्से परिसूचक यो साता १५४०.२३ अंकमा कायम भएको छ । यस आधारमा हेर्दा, साताभरमा सेयर बजार १३.४९ अंकले घटेको देखिन्छ ।
परिसूचक निरन्तर गिरावटमा रहेपछि कारोबार रकममा पनि खासै उत्साह देखिएको छैन । पाँच दिनको कारोबारमा सबैभन्दा धेरै आइतबार ५० करोडमाथिको कारोबार भयो । त्यसपछिको कारोबार ४० करोडभन्दा माथि रहेपनि ५० करोड पुग्न सकेन । समग्रमा, साताभरमा दुई अर्ब २४ करोड १४ लाख ९२ हजार सात सय ८७ रुपैयाँको कारोबार भएको छ ।
राष्ट्रिय बीमा कम्पनी, एनबी बैंक, नेपाल टेलिकम, ज्योति विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, जनता बैंक लगायतको राम्रो कारोबार भएको छ । यो साता पनि मल्टिपर्पोज फाइनान्सका सेयरधनीले राम्रो कमाई गरेका छन् । सहयोगी विकास बैंक, भार्गव विकास बैंक लगायतका सेयरधनीले गुमाएका छन् ।