यो साता नेप्से सुधारात्मक गतिमा देखिएको छ । साताको पहिलो दिन ३२.६४ अंकले घटेको सेयर बजार सोमबार ८.१२ अंकले मात्रै घटेको थियो । मंगलबार सेयर बजार सामान्य ०.७४ अंकले भएपनि उकालो लाग्यो। अन्तिम दुई दिन पनि वृद्धिले निरन्तरता पायो । बुधबार ३.३६ अंकले बढेको नेप्से परिसूचक विहीबार ४.०३ अंकले बढ्यो । यसरी, गत साताको अन्तिम दिन १५४२.६५ अंकमा बन्द भएको बजार यो साता १५१०.०२ अंकमा कायम भएको छ । दुई दिनको गिरावटमा १५०१.८९ अंकमा झरिसकेको नेप्से परिसूच्क पछिल्लो तीन दिनमा सम्हालिएको छ । जसअनुसार, साताभरमा नेप्से परिसूचक ४०.७६ अंकले घटेको छ ।
सेयर बजारको सुधारात्मक अवस्थाका कारण लगानीकर्तामा पनि विस्तारै उत्साह छाउन थालेको छ । फलस्वरुप, कारोबार रकम पनि दिनानुदिन बढिरहेको छ । आइतबार ४१ करोडको कारोबार भएको बजारमा सोमबार ३१ करोडको मात्रै कारोबार भएको थियो । मंगलबार नेप्से सामान्य अंकले बढेपछि ३० करोडको कारोबार भयो । बुधबार पनि वृद्धि कायम रहेपछि कारोबार रकममा सुधार आउन थालेको थियो । बुधबार ३२ करोडको कारोबार भएको बजार विहीबार ४० करोडमाथिको कारोबार भएको थियो । समग्रमा, यो साता एक अर्ब ७६ करोड ५९ लाख ८५ हजार दुई सय १४ रुपैयाँको सेयर कारोबार भएको देखिन्छ ।
कारोबार रकमका आधारमा यो साता चिलिमे हाइड्रो अगाडी छ । नेपाल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक लगायतको पनि राम्रो कारोबार भएको छ । यो साता कमाउनेभन्दा गुमाउने कम्पनीहरु धेरै रहेका छन् । खासै राम्रो कारोबार हुन नसक्दा सेयरधनीले राम्रो कमाइ गर्न पाएका छैनन् । यद्यपि, सेयर बजारले सुधारात्मक मोड लिएका कारण आगामी साता पनि यही गति कायम रहेमा लगानीकर्ताहरुका लागि कमाउने अवसर प्राप्त हुने देखिन्छ ।


