हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
नयाँ स्वास्थ्य बीमा ऐन
नयाँ स्वास्थ्य बीमा विधेयक व्यवस्थापिका संसदको बैठकले पारित गर्यो । अब हरेक नागरिक ‘स्वास्थ्य बीमा’ मा आबद्ध हुनुपर्ने भएको छ । ऐनले विपन्न र विशेष वर्गको प्रिमियम राज्यले व्यहोर्ने गरी चरणबद्ध रूपमा सम्पूर्ण नेपालीको स्वास्थ्य बीम गर्ने ग्यारेन्टी गरेको छ । पारित विधेयक अनुसार खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकारात्मक सेवाहरुमा बीमा लागू हुनेछ । त्यसैगरि बहिरङ्ग, भर्ना उपचार, आकस्मिक उपचार, शल्यक्रिया, औषधि, स्वास्थ्य सहायता उपकरण जस्ता उपचारात्मक सेवाको लागि पनि बीमा लागू हुनेछ । हवाई एम्बुलेन्सबाहेकको एम्बुलेन्स सेवा र नेपाल सरकारले निस्शुल्क तोकेका अन्य सेवाहरुमा समेत बीमाले कभर गर्नेछ । योग, पोषण, बानी–व्यहोरा सुधार, मनोसामाजिक परामर्श, खोप, परिवार नियोजन, सुरक्षित मातृत्व सेवा निःशुल्क हुनेछ । बीमाको पूर्ण कार्यान्वयन नहुँदासम्म सरकारले विभिन्न रोगका उपचारमा दिँदै आएको निःशुल्क सेवा कायम राख्ने र बीमा आबद्ध भए पनि भने आधारभूत सेवा मात्रै निःशुल्क हुनेछ । बीमा लागू भएपछि बिमितले तोकिएको स्वास्थ्य संस्थामा लिएको सेवाका आधारमा अस्पतालले नै भुक्तानी दाबी गर्नेछ । बिमितहरूले सेवा भने नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहद्वारा सञ्चालित अस्पताल, स्वास्थ्य प्रतिष्ठान, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य क्लिनिक तथा सामुदायिक स्वास्थ्य एकाइबाट प्राप्त गर्नेछन् । साथै निजीस्तरबाट सञ्चालित अस्पताल, शिक्षण अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक तथा क्लिनिकसँग पनि सम्झौता गरेर सेवा प्रवाह गर्न सकिनेछ । सामुदायिक र सबै प्रकारका अस्पताल, नर्सिङ होमलगायत जुनसुकै स्वास्थ्य एकाइबाट समेत सेवा लिँदा बीमाले समेट्छ । राष्ट्रिय स्वास्थ्य बीमा कार्यान्वयन भएपछि बिमितले बीमाको कार्ड लिएर नजिकको स्वास्थ्य संस्थाबाट प्राथमिक उपचार प्राप्त गर्नेछन् । गम्भीर समस्या भए प्राथमिक स्वास्थ्य संस्थाबाट बीमा बोर्डले तोकेको व्यवस्थाअनुसार रिफर भएर माथिल्लो तहको संस्थामा उपचार गर्ने व्यवस्था हुनेछ । तोकिएको मूल्यभन्दा बढी रकमका चस्मा, श्रवणयन्त्रलगायत स्वास्थ्यसम्बन्धी सहायक यन्त्र, प्लास्टिक सर्जरी, कृत्रिम गर्भाधान सेवा निःशुल्क हुने छैन ।
बेस्टले सिनर्जीलाई किन्ने
हालै समस्याग्रस्त वित्तीय संस्थाको सूचिबाट फुकुवा भएको बेस्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई खरिद गर्ने सम्झौता गर्यो । साबिकको जनरल फाइनान्सले समस्याग्रस्तबाट फुकुवा भएपछि नाम परिवर्तन गरी बेस्ट फाइनान्सको नामबाट कारोबार गरिरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने बाध्यता रहेको बेस्टले सिनर्जीलाई प्राप्ती गर्ने प्रक्रिया अघि बढाएको छ । बेस्ट फाइनान्सले विहीबार पत्रकार सम्मेलन गर्दै कम्पनी प्राप्ति सम्बन्धि दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको जानकारी गराएको छ । सम्मेलनमा बेस्टका अध्यक्ष पदमराज न्यौपानेले सेयर आदनप्रादन अनुपात (स्वाप रेसियो) दुबै संस्थाको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) पछि तय हुने जानकारी दिए । सम्झौताअनुसार, प्राप्तिपछि कम्पनीको नाम बेष्ट फाइनान्स रहने र अध्यक्षमा न्यौपानेले नै निरन्तरता पाउने छन् । प्रमुख कार्यकारी अधिकृतमा भने सनर्जी फाइनान्सका बिनितमणि उपाध्याय रहने छन् । सिनर्जीलाई अबको पाँच महिनाभित्र प्राप्ती गरिसक्ने बेस्ट फाइनान्सको योजना रहेको छ । अध्यक्ष न्यौपानेका अनुसार, सिनर्जी फाइनान्सले कार्तिक १७ गतेको साधारण सभामा ७० प्रतिशत हकप्रद दिने प्रस्तावलाई स्थगित गरि पहिले नै घोषणा भएको २५ प्रतिशतलाई निरन्तरता दिने भएको छ ।
एनआईबिएल र एस क्यापिटल गाभिने
एनआईबिएल क्यापिटल लिमिटेडको पाँचौ बार्षिक साधारणसभाले १२२.०४४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्यो । एनआईबिएल क्यापिटलले साधारणा सभाबाट चुक्ता पूँजी १० करोड १५ लाख रुपैयाँको ९७.०४४३ प्रतिशत बराबरको ९ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र २५ प्रतिशत नगद अर्थात दुई करोड ५३ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको हो । उता एस क्यापिटलको सातौ बार्षिक साधारण सभाले ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनले चुक्ता पूँजी ७ करोड रुपैयाँको ५२ प्रतिशतले हुने तीन करोड ६४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । दुबै कम्पनीको छुट्टाछुट्टै सम्पन्न साधारणसभाले एकआपसमा मर्ज हुने प्रस्ताव पनि पारित गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि सहायक कम्पनी एस क्यापिटल समेत इन्भेष्मेन्ट बैंकको सहायक कम्पनीको रुपमा परिणत भइसकेकाले यी दुई कम्पनीलाई पनि मर्जर गर्न लागिएको हो ।
नेप्सेमा नयाँ सिईओ
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को महाप्रवन्धकमा चन्द्रसिंह साउद नियुक्त भए । मन्त्रीपरिषदको सोमबार बसेको बैठकले नेप्से महाप्रवन्धकमा साउदलाई नियुक्त गरेका हो।अर्थमन्त्रालयले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोजकुमार ज्ञवाली छनौट गरेर मन्त्रीपरिषद्मा सिफारिश गरेको थियो । एमबिएस गरेर अध्यापन पेशा अँगालिरहेका चन्द्रसिंह साउदसँग नेपाल इन्स्योरेन्स कम्पनीमा २४ वर्ष काम गरेको अनुभव छ । उक्त कम्पनीमा २०५१ सालमा छैटौं तहमा प्रवेश गरेका उनले प्रमुख कार्यकारी अधिकृत हुँदै ०७३ मा अवकाश पाएका थिए । साउद अहिले चार्टर्ड क्यापिटल एण्ड इन्भेस्टमेन्टका अध्यक्ष छन् ।
भूकम्पपीडितलाई तीन लाख निर्ब्याजी ऋण
भूकम्प पीडितहरुले सरकारी अनुदानमा बन्दै गरेको घर नै धितो राखेर थप तीन लाख निर्ब्याजी ऋण पाउने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्य्विधि संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । सरकारले भूकम्प पीडितहरुलाई सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि बनाएपछि बैंकहरुले विनाधितो ऋण दिन नमानेपछि धितो जमानी राख्ने व्यवस्था गरिएको बताइएको छ ।
विद्युतीय भुक्तानी कार्डमा अन्तर्राष्ट्रिय मापदण्ड
अब बैंकहरुले अन्तर्रा्ष्ट्रिय स्तरको विद्युतीय भुक्तानी कार्ड मात्रै जारी गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनीमय सम्बन्धी एकिकृत निर्दे्शिका २०७४ संशोधन गर्दै वाणिज्य बैंक र विकास बैंकलाई विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अन्तर्रा्ष्ट्रिय स्तरको जारी गर्नुपर्ने व्यवस्था गरेको छ । वाणिज्य बैंक तथा विकास बैंकहरुले जारी गर्ने विद्युतीय भुक्तानी कार्डहरुमा अन्तर्रा्ष्ट्रिय रुपमै स्वीकार्य र प्रचलनमा रहेको सुरक्षात्मक उपाय र विषेशताहरु अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
एनआईसी एशिया क्यापिटलमा नयाँ सिईओ
एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा झनकराज ढुंगेल नियुक्त भए । कम्पनीको ३४औं संचालक समितिको बैठकले ढुंगेललाई सिईओमा नियुक्त गरेको हो । विगत २३ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत ढुंगेल अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि एनआईसी एशिया क्यापिटलका सिइओ रामचन्द्र खनाल थिए ।
नेपाल क्लियरिङ्ग हाउसमा नयाँ अध्यक्ष
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १०६औँ संञ्चालक समितिको बैठकबाट जनकबहादुर अधिकारीलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गर्यो । २०७३ साल असोज १२ गतेदेखि नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको संञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका अधिकारी नेपाल राष्ट्र बैंक, बैंकिङ्ग अफिस थापाथलीका कार्यकारी निर्देशक हुन् । कम्पनीको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक लगायत, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एकरएक जनाप्रतिनिधि रहेका छन् ।
सिद्धार्थ इक्विटी फण्डको विक्री सुरु
सिद्धार्थ क्यापिटलले ल्याएको तेस्रो सामुहिक योजना सिद्धार्थ इक्विटी फण्डको बिक्रि बुधबार (असोज २५ गते)देखि खुला भयो । क्यापिटलले एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड एकाइ निष्काशन गरेको हो । लगानीकर्ताले छिटोमा असोज २९ गतेसम्म आवेदन दिन सक्नेछन् । एकाइमा कम्तिमा एक सय रुपैयाँदेखि २४ लाख रुपैयाँसम्म आवेदन दिन सकिनेछ । आस्वा सेवा प्रदायक सबै बैंक बित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको हकप्रद खुला
बुटवल–८, रुपन्देही स्थित केन्द्रीय कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडले १२० प्रतिशत हकप्रद सेयर निष्काशन गर्यो । कात्तिक २९ गतेसम्म खुला रहने सेयरमा असोज १७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । निष्कासनको प्रकृयामा रहेको हकप्रद सेयरबाट नेपाल राष्ट्र बैंकले तोके बमोजिम अपुग हुने चुक्ता पुँजी गत आ. व. को मुनाफा तथा अघिल्लो हकप्रद सेयर निष्काशनको क्रममा आर्जित सेयर प्रिमियमवाट वोनस सेयर वितरण गरी पुर्याईने बैंकको योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बताए ।
ओम डेभलपमेन्ट बैंकको हकप्रद खुला
ओम डेभलपमेन्ट बैंकले असोज २३ गतेदेखि चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कात्तिक २६ गतेसम्म खुला रहने हकप्रदमा भदौ २९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । एनआइबिएल क्यापिटल मार्केट्स, ओम डेभलपमेन्ट बैंकका केन्द्रीय तथा शाखा कार्यालयहरु, नेपाल इन्भेष्टमेन्टका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगन्ज, इटहरी र धनगढीबाट उक्त हकप्रद सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । हाल ओम डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ४९ करोड ३१ लाख रुपैयाँ बराबरको ४९ लाख ३१ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । जसपश्चात्, बैंकको चुक्तापुँजी दुई अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।
अन्य
- इजीलिंक रेमिट्यान्स प्रा.लि. र कैलाश विकास बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भयो ।
- गण्डकी विकास बैंकले झापाको विर्तामोड र मोरडको विराटनगर शाखावाट कारोवार शुभारम्भ गर्यो ।
- यसै साता लक्ष्मी बैंकले ताप्लेजुङ्गको फुङ्गिल्ङ्ग, ओखलढुङ्गाको सिद्धिचरण नगरपालीका हुलाक डाडाँ र पाचँथरको फिदिममा नयाँ शाखाहरु संचालनमा ल्यायो ।
- सानिमा बैंकले काठमाडौंको गौशालामा ४७औँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गर्यो ।
- सनराइज बैंक लिमिटेडले आफ्नो दशौँ वार्षिकोत्सवको उपलक्ष्यमा साइकल र्याली कार्यक्रम आयोजना गर्यो ।