२०७४ आश्विन २० गते

दशैँ विदापछि खुलेको सेयर बजारमा राजनीतिको प्रभाव

दशैँ विदापछि यो साताको मंगलबार र बुधबार सेयर कारोबार भयो । पहिलो दिन हरियाली छाएको बजारमा दोस्रो दिन नै दोहोरो अंकको गिरावट आयो । मंगलबार नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले, नेकपा माओवादी केन्द्रसँगै नयाँ शक्ति नेपालले आगामी निर्वाचनमा कार्यगत एकता र त्यसपछि पार्टी एकता गर्ने घोषणा गरेका थिए । उक्त घोषणाको नकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । त्यसमाथि, राष्ट्र बैंकमा सुरु भएको चरणवद्ध आन्दोलनका कारण पनि सेयर बजारमा उत्साह घटेको पाइएको छ ।

मंगलबार सबै उपसूचकको वृद्धिसँगै नेप्से परिसूचक ६.८९ अंकले बढेको थियो । यद्यपि, बाम एकतालाई रातोझण्डा देखाउँदै बुधबार सेयर बजार १३.७० अंकले घट्यो । दशैँअघि १५४५.४४ अंकमा बन्द भएको सेयर बजार यो साता १५४२.६५ अंकमा झरेको छ । जसअनुसार, यो साता नेप्से परिसूचकमा २.७९ अंकको गिरावट आएको छ । 

यो साता दुई दिन मात्र कारोबार भएकाले धेरै रकम परिचालन भएन । दुई दिनमा ४० करोड माथिको सेयर कारोबार भयो । कारोबारका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको अग्रता रह्यो । दिव्यश्वरी हाइड्रो, सिनर्जी पावर, चिलिमे हाइड्रो, वरियन्टल होटल्स लगायतका सेयरधनीले कमाउँदा नेरुडे लघुवित्त, एनआईबिएल समृद्धि फण्ड, कुबेर मर्चेन्ट फाइनान्स, हाम्रो विकास बैंक लगायतका सेयरधनीले गुमाएका छन् । 

तत्कालका लागि बाम एकताको नकारात्मक प्रभाव देखिएपनि यो राजनीतिक स्थितरताको संकेत भएकाले दीर्घकालीन रुपमा सकारात्मक प्रभाव देखिने सेयर विश्लेषकहरु बताउँछन् । हाथ वे इन्भेष्टमेन्ट नेपालका प्रमुख वित्तीय बिश्लेषक प्रकाश तिवारी भन्छन्, ‘पहिलेदेखि नै नेपालको पुँजी बजारमा कांग्रेस सरकारलाई सकरात्मक रुपमा हेर्ने र कम्युनिष्ट सरकार बन्दा नकरात्मक रुपमा हेर्ने गरिन्छ । तर वास्तवमा कम्युनिष्ट वा कांग्रेस जसको सरकार भए पनि पूँजी बजारमा त्यस्तो असर पर्दैन ।’ निर्धारित समयमा प्रदेशसभा र प्रतिनीधिसभाको निर्वाचन सम्पन्न भएर पहिलेको जस्तो ९÷९ महिनामा सरकार परिवर्तन नहुने र स्थिर सरकार हुने हो भने अबको पूँजी बजार उकालो तिर लाग्ने तिवारीको भनाई छ ।