Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेको महाप्रबन्धकमा छानियो तीन नाम

२०७४ आश्विन १९ गते

अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को महाप्रवन्धकमा तीन जनाको नाम छनौट गरेको छ ।  अन्तर्वार्ता, प्रिजेन्टेशन, अनुभव लगायतका आधारमा चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोजकुमार ज्ञवाली नेप्सेको महाप्रबन्धकमा छनौट भएका हुन् । छनौट भएका तीनै जना आआफ्नो क्षेत्रमा अनुभवी मानिन्छन् । 

एमबिएस गरेर अध्यापन पेशा अँगालिरहेका चन्द्रसिंह साउदसँग नेपाल इन्स्योरेन्स कम्पनीमा २४ वर्ष काम गरेको अनुभव छ । उक्त कम्पनीमा २०५१ सालमा छैटौं तहमा प्रवेश गरेका उनले प्रमुख कार्यकारी अधिकृत हुँदै ०७३ मा अवकाश पाएका थिए । साउद अहिले चार्टर्ड क्यापिटल एण्ड इन्भेस्टमेन्टका अध्यक्ष छन् । 
 
त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका प्रमोदराज शर्मा पनि २१ वर्षदेखि शिक्षण पेशामा छन् । भूमिगत जलस्रोत विकास समितिको कार्यकारी निर्देशक समेत भएर काम गरिसकेका शर्माले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको ’युथ बिजन २०२५’ र  ’युवा नीति पुनरावलोकन’ ड्राफ्ट समितिमा रही काम गरेका छन् । उनले बिबिए, बीबीएस र एमबिएका लागि पुस्तक समेत लेखेका छन् । 

यता, ज्योती विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत मनोज कुमार ज्ञवालीले नेपाल राष्ट्र बैंकको लगानी शाखामा सहायक निर्देशकका रुपमा पाँच वर्ष बिताएका छन् भने ग्लोबल आईएमइ बैंकमा सात वर्ष काम गरेका छन् । साथमा ग्लोबल अईएमइ क्यापिटलमा प्रबन्ध संचालकको समेत अनुभब बटुलेका छन् । ग्लोबल आइएमई क्यापिटलले ल्याएको पहिलो सामूहिक योजनाका योजनाकार चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली पछिल्लो समय विद्यावारिधीका लागि अध्ययन गरिरहेका छन् ।

छनौट भएकामध्ये यी तीन जनामध्ये एकजनालाई मन्त्रीपरिषद्ले महाप्रवन्धकमा नियुक्त गर्नेछ ।