२०७४ आश्विन १७ गते

सेयर बजारमा हरियाली, कमाउने र गुमाउने कोको ?

मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सबै उपसूचक उकालो लागेपछि नेप्से परिसूचक ६.८९ अंकले बढेर १५५६.३५ अंकमा पुगेको छ । जलविद्युत् समूह सबैभन्दा धेरै ६३.८९४ अंकले बढेको छ । बैंकिङ, व्यापार होटल, विकास बैंक, फाइनान्स, बीमा र अन्य समूह क्रमशः ५.६६, ३.८, २८.५९, ०.६५, २.८८, ९.२२ र १.४४ अंकले बढेका छन् । 

दिनभरिमा १२० वटा कम्पनीको दुई लाख ६९ हजार सात सय ४६ कित्ता सेयर दुई हजार ४५ पटक खरिदविक्री हुँदा जम्मा १४ करोड ५२ हजार एक सय ५० रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण र संस्थापक सेयर गरी पौने छ करोडको कारोबार भएको छ भने नागरिक लगानी कोषको ८१ लाख, चिलिमे हाइड्रोको ७३ लाख र प्राइम बैंकको ४० लाखको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, एनसीसी बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको २० लाखमाथिको कारोबार भएको छ । 

चिलिमे हाइड्रोका सेयरधनीले ८.१३ प्रतिशतले कमाउँदा वरियन्टल होटल्सका सेयरधनीले ५.०२ प्रतिशतका दरले कमाएका छन् । प्राइम बैंक, गुहेश्वरी फाइनान्स, बुटवल पावर कम्पनी, जनता बैंक, रुरल माइक्रोफाइनान्स, एनआईसी एसिया बैंक, नविल व्यालेन्स फण्ड, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर लगायतका सेयरधनीले पनि कमाएका छन् । 

एनआईबिएल समृद्धि फण्ड, हाम्रो विकास बैंक, समिट माइक्रोफाइनान्स, देवः विकास बैंक, एनबि इन्स्योरेन्स, युनाइटेड मोदी हाइड्रो, रिडी हाइड्रो, छ्याङ्दी हाइड्रो, नागबेली लघुवित्त, स्वरोजगार लघुवित्त लगायतका सेयरधनीले गुमाएका छन् ।