नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो छैठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले कम्पनीको आ.व. २०७३÷७४ को मुनाफाबाट २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।
उक्त वार्षिक साधारणसभाले वाणिज्य बैंक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्न उमंग शर्मा (प्रतिनिधि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड), अनुपमा खुञ्जेली (प्रतिनिधि मेगा बैंक नेपाल लिमिटेड) र उज्जवल राजभण्डारी (प्रतिनिधि हिमालयन बैंक लिमिटेड)लाई निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै विकास बैंक र वित्तकम्पनी समूहहरुबाट संचालक समितिमा प्रतिनिधत्व गर्न क्रमशः प्रद्युम्न पोखरेल (प्रतिनिधि मुक्तिनाथ विकास बैंक लिमिटेड)र सुनील पन्त(प्रतिनिधि आई.सी.एफ.सी. फाइनान्स लिमिटेड) लाई निर्विरोध निर्वाचित गरेको छ ।
नेपाल क्लियरिङ हाउसले आ.व. २०७३/७४मा २१ करोड १० लाख ३१ हजार दुई सय ११ रुपैयाँ संचालन मुनाफा र १३ करोड १९ लाख ४५ हजार तीन सय ५५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्तापूँजी १८ करोड रुपैयाँ हुनेछ । कम्पनीमा १०% नेपाल राष्ट्र बैंकको, ८०% बैंक तथा वित्तीय संस्थाहरुको र १०% स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि.को सेयर स्वामित्व रहेको छ ।
हाल ८३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका तीन हजार एक सय ८० शाखाहरुबाट खिचिएका चेकहरु कम्पनीको NCHL-ECC प्रणाली मार्फत राफसाफ हुँदै आएको छ । गत आर्थिक वर्षको तुलनामा आ.व. २०७३/७४मा चेक राफसाफमा ३६५ले वृद्धि गरी कम्पनीले कुल ९९ लाख ५१ हजार दुई सय ६९ चेक राफसाफ गरेको थियो भने दैनिक औसत २३ अर्ब रुपैयाँ बराबरको ४३ हजार तीन सय २६ चेकको राफसाफ गरेको थियो ।
अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS बाट आ.व. २०७३/७४ मा चनर लाख ९४ हजार तीन सय १९ कारोबार भएको कम्पनीले जनाएको । कम्पनीका अनुसार, सो अवधिमा दैनिक औसत रु.१.५ अर्ब रकम बराबरको दुई अजार चार सय १३ कारोबार भएको थियो । उक्त प्रणालीमा हाल ६६ बैंक तथा वित्तीय संस्थाहरु प्रत्यक्ष सदस्याको रुपमा तथा ७ अन्य संस्थाहरु अप्रत्यक्ष अर्थात टेक्निकल सदस्यको रुपमा आवद्ध छन् ।