२०७४ आश्विन ७ गते

लघुवित्तको सेवा शूल्क तोकियो, २ प्रतिशत लिन पाउने

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरुको सेवा शूल्क निर्धारण गरिएको छ । यसअघि क, ख र ग वर्गका बैंकले कर्जा प्रवाह गर्दा लिने सेवा शूल्कमा क्याप लगाएको राष्ट्र बैंकले चालू आर्थिक वर्षदेखि नै लागू हुने गरि लघुवित्तहरुको सेवा शूल्कमा समेत क्याप लगाएको हो । 

राष्ट्र बैंकको निर्देशनअनुसार, अब लघुवित्त वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा कुल कर्जाको अधिकतम दुई प्रतिशत सेवा शूल्क लिन पाउनेछन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले यस्तो शूल्क एक प्रतिशत मात्रै लिन पाउने व्यवस्था रहेको छ । 

लघुवित्तहरुले लिने सेवा शूल्कमा एकरुपता ल्याउनका लागि सेवा शूल्क निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि, लघुवित्तहरुले कर्जा प्रवाह कर्जा सेवा शूल्क लिने वा नलिने भन्ने विषयमा राष्ट्र बैंक मौन थियो । 

राष्ट्र बैंकको यस निर्देशनलाई लघुवित्तकर्मीहरुले पनि सकारात्मक रुपले लिएका छन् । धेरै सेवा शूल्क लिने गरेका लघुवित्तलाई नियन्त्रणमा लिन राष्ट्र बैंकले गरेको यो व्यवस्था सराहनीय भएको उनीहरुको तर्क छ । माइक्रोफाइनान्सले पनि सेवा शूल्क तिरेर लिएको ऋण सर्वसाधारणहरुलाई प्रवाह गर्ने गर्दछ । यस हिसाबले पनि लघुवित्तहरुले कर्जा प्रवाह गर्दा सेवा शूल्क लिन पाउने व्यवस्था गर्नु राम्रो रहेको लघुवित्तकर्मीहरु बताउँछन् ।