२०७४ आश्विन ६ गते

नेप्सेमा ९.५ अंकको वृद्धि, पौने दुई अर्ब पनि पुगेन कारोबार, विशाल बजारका सेयरधनी मालामाल

यो साता मंगलबार र विहीबार दुई दिन सार्वजनिक विदा परेकाले तीन दिन मात्रै सेयर कारोबार भयो । साताको सुरुवात दोहोरो अंकको वृद्धिबाट भएको सेयर बजारमा पछिल्लो दुई दिन गिरावट आयो । गत साताको अन्तिम दिन १५३०.३१ अंकमा बन्द भएको बजार यो साता १५३९.८१ अंकमा छ । जसअनुसार, साताभरमा सेयर बजार ९.५ अंकले बढेको देखिन्छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उतारचढाव आएको छ । आइतबार ७७ करोडको कारोबार भएको बजारमा सोमबार ४६ करोड ९३ लाख रुपैयाँको मात्रै कारोबार भएको थियो । बुधबार पुनः सुधारिँदै ५४ करोडको कारोबार भएको थियो । समग्रमा, यो साता एक अर्ब ७८ करोड ९९ लाख १९ हजार एक सय ७१ रुपैयाँको मात्रै कारोबार भएको देखिन्छ । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । तीन दिनमा नेपाल लाइफको ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसबाहेक, सानिमा बैंक, एभरेष्ट बैंक लगायत केही वाणिज्य बैंकहरुको राम्रो कारोबार भएको छ । 

बजारमा तीव्र उतारचढाव आएपनि विशाल बजारका सेयरधनीले अत्याधिक कमाई गरेका छन् । विशाल बजारको सेयरमूल्य आइतबार, सोमबार र बुधबार क्रमशः ९.९९, ९.९८ र १० प्रतिशतका दरले बढेको छ । यसबाहेक, हाम्रो विकास बैंक, प्रोग्रेसिभ फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । कुबेर मर्चेन्ट बैंकिङ, मिथिला लघुवित्त,  स्वरोजगार लघुवित्त लगायतका सेयरधनीले गुमाएका छन् ।