२०७४ आश्विन ४ गते

काबेली विकास बैंक र माउण्ट मकालु डेभलपमेन्ट बैंक मर्जरमा जाँदै

अजय पंगेनी – माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेड र काबेली विकास बैंक लिमिटेड एक आपसमा मर्ज हुने भएका छन् । हाल एक जिल्ला कार्यक्षेत्र भएका माउण्ट मकालु र काबेली विकास बैंक एक आपसमा मर्ज भएर ३ जिल्ले विकास बैंक बन्ने भएका हुन् । 

हाल मर्जर प्रक्रिया अघि बढिसकेको माउण्ट मकालु डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार खड्काले बताए । प्रमुख कार्यकारी अधिकृत खड्काले बैंकिङ खबरलाई दिएको जानकारी अनुसार आगामी पौष महिनाभित्र यी दुई बैंकबीच मर्जर भई एकिकृत कारोबार शुरु हुनेछ । 

एक जिल्ले विकास बैंक दुईमा सीमित हुँदै
यी दुई बैंकको मर्जर प्रक्रिया अगाडी बढेसँगै एक जिल्ले विकास बैंकको संख्या दुईमा सीमित हुँदैछ । तर बाँकी रहेका हाम्रो विकास बैंक र सहारा विकास बैंक पनि मर्जर/एक्विजिशन वा कार्यक्षेत्र विस्तार गर्ने सम्भावना बढी भएकाले एक जिल्ले विकास बैंकको संख्या शून्यमा झर्ने सम्भावना बढी रहेको छ । ठूलो संख्यामा रहेका विकास बैंकहरु नेपाल राष्ट्र बैंकको पूँजी वृद्धिको योजनापछि सानो संख्यामा खुम्चिँदै गएका छन् । पछिल्लो ६ महिनाभित्र ५५ बाट घटेर अहिले ३५ वटामा सीमित भएका विकास बैंकहरु अझै घट्ने क्रम जारी छ ।