यो साता सेयर बजार सुधारोन्मुख भएको बन्द भएको छ । साताको आइतबार ३४.८९ अंकले घटेको सेयर बजार सोमबार ३.६० अंकले बढेको थियो । फेरि मंगलबार २१.०६ अंकको गिरावट आएको बजारमा बुधबार नौ अंकको गिरावट आयो । साताको अन्तिम दिनमा आएर भने नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । विहीबार बजार ३७.११ अंकले बढेर १५३०.३१ अंकमा पुगेको छ । गत साताको अन्तिम दिन सेयर बजार १५५४.५५ अंकमा थियो । यस आधारमा हेर्दा, साताभरमा नेप्से २४.२४ अंकले घटेको छ । गत साता सेयर बजारमा २५.४८ अंकको गिरावट आएको थियो ।
सेयर बजारमा उतारचढाव आइरहँदा सेयर बजारमा लगानीकर्ताको आकर्षण पनि कम देखिएको छ । आइतबार ९२ करोडको कारोबार भएको बजारमा सोमबार ८४ करोडको मात्रै कारोबार भएको थियो । मंगलबार कारोबार रकम झन्डै ५७ करोडमा झरेको थियो । बुधबार ६३ करोड ६९ लाख रुपैयाँको कारोबार भएको बजारमा विहीबार ६३ करोड ५० लाख रुपैयाँको मात्रै सेयर कारोबार भएको छ । समग्रमा यो साता तीन अर्ब ६० करोड ७४ लाख पाँच हजार नौ सय ६७ रुपैयाँको कारोबार भएको छ । गत साता तीन दिनमा दुई अर्ब ४१ करोड २१ लाख ७५ हजार चार सय ३६ रुपैयाँको कारोबार भएको थियो ।
गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर घोषणा गरेका कम्पनीहरुको पनि यो साता राम्रो कारोबार हुन सकेको छैन । नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक, नेपाल बैंक, निर्धन उत्थान बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको धेरै कारोबार भएको छ । यो साता कमाउनेभन्दा गुमाउने सेयरधनीहरु धेरै छन् । सोमबार र विहीबार बजार बढ्दा केही कम्पनीका सेयरधनीले सम्पत्ति बढाउने अवसर पाए । यसबाहेक, आइतबार १२, मंगलबार १९ र बुधबार ३९ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । समग्रमा, विशाल बजार, राष्ट्रिय बीमा कम्पनी लगायतका सेयरधनीले केही कमाएका छन् । छिमेक लघुवित्त, लक्ष्मी लघुवित्त, नेशनल माइक्रोफाइनान्स लगायतका सेयरधनीले गुमाएका छन् ।