बैंकिङ खबर । नेपालमा ६० प्रतिशतभन्दा बढी जनता बैंकिङ पहुँच बाहिर रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । मुलुकका ग्रामिण भेगमा वित्तीय चेतना फैलाउनका लागि विगतका केहि बर्षदेखि राष्ट्र बैंकले विशेष कार्यक्रम नै आयोजना गरिरहेको छ । धेरै जसो बैंकहरुले अहिले बैंकिङ शाखा विस्तारलाई तिब्रता दिइरहेका छन् । ग्रामिण भेगमा बैंकिङ पहुँच बढाउनका नेपाल सरकारले प्राथमिकताका साथ चालु आर्थिक बर्षको बजेटमा नै प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकको शाखा अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । यसैबीच, सबैभन्दा बढी शाखा भएका पाँच वाणिज्य बैंकहरुबारे यहाँ चर्चा गरिन्छ ।
कृषि विकास बैंक
५० बर्ष पहिले स्थापना भएको सरकारी स्वामित्वको कृषि विकास बैंक शाखा सञ्जाल विस्तारमा सबैभन्दा अग्रपंक्तिमा रहेको छ । मुलुकका विभिन्न ठाउँहरुमा यस बैंकको हाल दुई सय ५३ शाखा कार्यालयहरु सञ्चालनमा रहेको बैंकका सूचना अधिकारी हिमलाल पौडेलले जानकारी दिए । सूचना अधिकारी पौडेलले बैंकिङ खबरलाई दिएको जानकारी अनुसार कृषि विकास बैंकको उपत्यकाभित्र ३३ वटा र उपत्यका बाहिर दुई सय २० वटा शाखा कार्याहयहरु रहेका छन् । शाखा सञ्जाल सबैभन्दा बढी भएको यस बैंकले नयाँ संघीय संरचना अनुसार बनेका छ जिल्लाका सात स्थानीय तहमा बैंकको शाखा खोल्ने भएको छ । कृषि विकास बैंकले ओखलढुंगाको चम्पादेबी गाउँपालिका, सोलुखुम्बुको सोताङ गाउँपालिका, सुनसरीको बर्जु गाउँपालिका र सुनसरीकै कोशी गाउँपालिका, गोर्खाको गण्डकी गाउँपालिका, गुल्मीको मदाने गाउँपालिका र बझाङको बुंगल गाउँपालिकामा शाखा खोल्ने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंक शाखा सञ्जालको हिसाबले दोस्रो ठूलो वाणिज्य बैंक हो । पूर्ण सरकारी स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंकको जम्मा एक सय ८२ वटा शाखा कार्यालयहरु रहेका छन् । काठमाडौं उपत्यकाभित्र यस बैंकको ३८ वटा शाखा कार्यालयहरु रहेका छन् भने उपत्यका बाहिर मुलुकका विभिन्न ठाउँहरुमा एक सय ४४ वटा शाखा कार्यालयहरु रहेका छन् । यस बैंकले थपे पाँच जिल्लाको छ स्थानीय तहमा बैंक शाखा खोल्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले मोरङको कटहरी गाउँपालिका, पर्साको सुवर्णपुर गाउँपालिका, रौतहटको मौलापुर र इश्नाथ गाउँपालिका, पर्वतको महाशिला गाउँपालिका र सुर्खेतको गुर्भाकोट गाउँपालिकामा शाखा खोल्ने भएको छ ।
प्रभु बैंक
प्राइभेट सेक्टरको बलियो बैंकको रुपमा रहेको प्रभु बैंकले अहिले एक सय ४१ वटा शाखा कार्यालयहरु मार्फत सेवा दिँदै आएको छ । शाखा सञ्जालको हिसाबले तेस्रो स्थानमा रहेको प्रभु बैंक प्राइभेट सेक्टरका अन्य बैंक भन्दा शाखा विस्तारमा धेरै अगाडी रहेको छ । यस बैंकको उपत्यकाभित्र ४६ वटा शाखा कार्यलयहरु रहेका छन् भने उपत्यका बाहिर ९५ वटा शाखा कार्यालयहरु रहेका छन् ।स्थानीय तहमा पनि प्रभुले नै सबैभन्दा धेरै शाखा खोल्ने भएको छ । यस बैंकले सबैभन्दा बढी ३१ वटा स्थानीय तहहरुमा बैंक शाखा खोल्ने भएको छ । प्रभु बैंकले भोजपुरको अरुण गाउँपालिका, भाजपुरकै हतुवागढी गाउँपालिका, इलामको सन्दकपुर गाउँपालिका, सोलुखुम्बुको दुधकोशी गाउँपालिका, धनुषाको मुखियापट्टि गाउँपालिका, महोत्तरीको एकडारा गाउँपालिका, सिरहाको भगवानपुर गाउँपालिका, सिरहाकै बरियारपट्टि गाउँपालिका, बझाङको ताराखोला, तमानखोला, वरेङ, निशी खोला र वडिगाउँ गाउँपालिका, कास्कीको माछापूछ्रे गाउँपालिका, मनाङको नाशोङ र नेस्याङ गाउँपालिका, मुस्ताङको दालोमे, थोमन्साङ र थासाङ गाउँपालिका, म्याग्दीको धवलागिरी र रघुगंगगा गाउँपालिका, पर्वतको विहादी गाउँपालिका, कपिलवस्तुको विजयनगर गाउँपालिका, रोल्पाको माडी गाउँपालिका, दैलेखको भगवती माई र गुँरास गाउँपालिका, डोल्पाको शे फोक्सुण्डे गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका, बैतडीको सिगास गाउँपालिका, डडेलधुराको नवदुर्गाली गाउँपालिका र दार्जुलाको व्याँस गाउँपालिका गरी जम्मा ३१ स्थानीय तहमा बैंकको शाखा खोल्ने भएको छ ।
नेपाल बैंक
नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड शाखा संख्याको हिसाले चौथो स्थानमा रहेको छ । यस बैंकको हाल उपत्यकामा २९ सहित देशका विभिन्न ठाउँहरुमा एक सय ३० वटा शाखाहरु रहेका छन् । नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडले ५ स्थानीय तहमा शाखा खोल्ने भएको छ । नेपाल बैंकले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका, नवलपरासीको पाल्हीनन्दन गाउँपालिका, रुकुमको सिस्ने गाउँपालिका, सल्यानको बागचौर नगरपालिका र डोल्पाको जगदल्ला गाउँपालिकामा शाखा खोल्ने भएको छ ।
एनआईसी एशिया बैंक
एनआइसी एशिया बैंक शाखा सञ्जालको हिसाबले पाचौँ ठूलो वाणिज्य बैंक हो । यस बैंकको हाल एक सय २२ वटा शाखा कार्यालयहरु रहेका छन् । यस बैंककी गुनासो सुन्ने अधिकारी साफी पौड्यालले दिएको जानकारी अनुसार उपत्यकाभित्र ३२ सहित मुलुकभर एक सय २२ वटा शाखा कार्यालयहरु रहेका छन् । यस बैंकले बैंक शाखा नपुगेका पाँच स्थानीय तहमा आफ्नो शाखा खोल्ने भएको छ । एनआईसी एशिया बैंकले झापाको कचनकवल गाउँपालिका, ताप्लेजुङको मेरिङदेन गाउँपालिका, नवलपरासीको वुलिङटार गाउँपालिका, अछामको रामारोशन गाउँपालिका र कञ्चनपुरको बेदकोट नगरपालिकामा शाखा खोल्ने भएको छ ।