Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आईपिओकै मूल्यमा नेपाल ग्रामीण विकास बैंकको एफपिओ आयो, यसरी दिनुहोस् आवेदन

२०७४ भाद्र २७ गते
सेयर:

नेपाल ग्रामीण विकास बैंकले आईपिओको मूल्यमा एफपिओ निष्काशन सुरु गरेको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँका दरले नौ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गरेको हो । सेयर निष्काशन छिटोमा भदौ ३० गते र ढिलोमा असोज १० गतेसम्म खुला रहनेछ । 

एफपिओमा न्यूनतम ५० कित्तादेखि ४८७० कित्तासम्म आवेदन गर्न सकिनेछ । लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । एफपिआको विवरणपत्र प्रभु क्यापिटल तथा ग्रामिण विकास बैंकको केन्द्रीय कार्यालय बुटवलबाट प्राप्त गर्न सकिनेछ । नेपाल धितोपत्र बोर्डमा आस्वा सेवामा सहभागी जुनसुकै बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट ७५ जिल्लाबाट नै आवेदन गर्न सकिन्छ । 

बैंकको एफपिओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । ग्रेड फोर प्लस रेटिङले बैङ्ककोे आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ । हाल बैंकको चुक्तापुँजी पूँजी ५५ करोड ७५ लाख रुपैयाँ रहेको छ । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ९ करोड ७५ लाख रुपैयाँ थपिएर ६५ करोड ५५ लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक बर्षमा  १६ करोड १४ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको लघुवित्तको जगेडा कोषमा १७ करोड ३३ लाख ७७ हजार रुपैयाँ रहेको छ । 

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पाँच विकास क्षेत्रमा स्थापना भएका साविकका पाँच वटा ग्रामीण विकास बैंकहरु मर्ज भई बनेको राष्ट्रिय स्तरको लघुवित्त विकास बैंकको रुपमा यस बैंकले २०७१ साउन ३० गते देखि एकिकृत कारोवार शुरु गरेको थियो । हालसम्म लघुवित्तले ५३ जिल्लामा १९२ वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९१२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५१४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पुर्याउँदै आएको छ ।