२०७४ भाद्र २६ गते

वोमी र समता माइक्रोफाइनान्सका सेयरधनीले कति पाउने भए लाभांश ?

दुई वटा लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई बोनस वितरण गर्ने प्रस्ताव अघि सारेका छन् । 

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर वापतको १.१०८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २५ गते आइतबार बसेको ९४ औं सञ्चालक समितिको बैठकले एक करोड २९ लाख ६० हजार रुपैयाँको बोनस तथा ७ लाख १८ हजार रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । २० प्रतिशत बोनस वितरणपछि माइक्रोफाइनान्सको पूँजी ७ करोड ७७ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । ६ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको वोमी माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा दुई करोड १० लाख रुपैंया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४१ पैसा तथा  मूल्य आम्दानी अनुपात ६१.०६ गुणा कायम गरेको छ । 

त्यस्तै, समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गतबर्षको कमाईबाट ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । माइक्रोफाइनान्सको ५३ औँ बोर्ड बैठकले २० प्रतिशत बोनस तथा कर सहित ११.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरको हो । लघुवित्तको चुक्ता पुँजी तीन करोड १६ लाख रुपैयाँ रहेको छ। बोनसपछि कम्पनीको चुक्तापूँजी झण्डै ३ करोड ८० लाख पुग्नेछ । कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृतीपछि  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।