२०७४ भाद्र २६ गते

१२० प्रतिशत हकप्रद जारी गर्न नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले पायो स्वीकृति

बुटवलमा केन्द्रीय कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडले १२० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले आफ्ना साविकका सेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजीको १२० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २६ करोड ४३ लाख ५३ हजार आठ सय ८० रुपैयाँ बराबरको ३६ लाख ४३ हजार पाँच सय ३८ दशमलव ८० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

हाल नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको चुक्तापुँजी २२ करोड दुई लाख ९५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी ४८ करोड ४६ लाख ४८ हजार आठ सय रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोके बमोजिम अपुग हुने चुक्तापुँजी गत आर्थिक वर्षको मुनाफा तथा अघिल्लो हकप्रद सेयर निष्काशनको क्रममा आर्जित सेयर प्रिमियमबाट वोनस सेयर वितरण गरी पुर्याउने बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बताए ।

रुपन्देही, नवलपरासी र चितवनमा १० वटा शाखा तथा विस्तारित शाखा कार्यालयहरु मार्फत २३,१६३ निक्षेपकर्तालार्ई ए.टि.एम, सन्ध्याकालिन, लकर, निशुल्क ए.बि.बि.एस., इलेक्ट्रोनिक चेक क्लियरिङ र ३६५ दिने बैकिङ्घ सेवा लगायतका अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको उक्त बैंकको अधिकृत पूँजि ६० करोड तथा चुक्ता पूँजि २२ करोड २ लाख ९४ हजार ९ सय, निक्षेप १ अरब ८० करोड, कर्जा लगानी १ अरब ६० करोड र निष्कृय कर्जा ०.५१ प्रतिशत रहेको छ भने गत आषाढ मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार रु. ५ करोड ६७ लाख संचालन मुनाफा गरेको छ ।