२०७४ भाद्र २३ गते

साताको सेयर बजार : तीन दिनमा २५.४८ अंकको गिरावट, कारोबार झन्डै साढे दुई अर्ब

साताको दुई दिन सार्वजनिक विदा परेकाले तीन दिनमात्रै सेयर कारोबार भयो । सोमबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार दोहोरो अंकले घट्यो । यद्यपि, उक्त वृद्धि अर्को दिन कायम रहन सकेन । फलस्वरुप, विहीबार सेयर बजार पुनः दोहोरो अंकले घटेर १५५४.५५ अंकमा कायम भयो । गत साताको अन्तिम दिन नेप्से परिसूचक १५८०.०३ अंकमा थियो । यस आधारमा हेर्दा, यो साता नेप्से २५.४८ अंकले घटेको छ । 

यो साता कारोबार पनि उत्साहजनक हुन सकेन । बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस घोषणाले केही हदसम्म लगानीकर्तालाई आकर्षित गरेको भएपनि विहीबार बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आयो । सोमबार ८४ करोडको कारोबार भएको बजारमा बुधबार ८३ करोडको कारोबार भयो विहीबार जम्मा ७३ करोडको कारोबार भयो । समग्रमा, साताभर दुई अर्ब ४१ करोड २१ लाख ७५ हजार चार सय ३६ रुपैयाँको कारोबार भएको छ । 

गत आर्थिक वर्षको मुनाफाबाट बोनस घोषणा गरेका केही कम्पनीहरुको राम्रै कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक लगायतको राम्रो कारोबार भएको छ । साताभर कुनै कम्पनीका सेयरधनीले पनि राम्रो कमाई गर्न सकेनन् । सोमबार जम्मा १५ कम्पनी र विहीबार ३३ वटा कम्पनीको सेयरमूल्य बढेको थियो भने बुधबार नेप्से उकालो लाग्दा केही लघुवित्त कम्पनीहरुको सेयरमूल्य बढेको थियो । समग्रमा आरएसडीसी लघुवित्तका सेयरधनीले धेरै कमाएका छन् । गुमाउनेमा भने एक्सेल डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर लगायतका सेयरधनी छन् ।