साताको अन्तिम दिन सेयर बजार पुनः घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको बम्पर बोनस घोषणाले बुधबार बढाएको बजार विहीबार ११.९५ अंकले घटेर १५५४.५५ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूह ओरालो लागेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य समूह क्रमशः ९.२४, ११.१५, ५.५, २३.७४, ५.४७, ११४.८६, २४.१३ र ४.०५ अंकले घटेका छन् ।
विहीबार कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ । दिनभरिमा १५७ वटा कम्पनीको १२ लाख ८५ हजार आठ सय पाँच कित्ता सेयर आठ हजार पाँच सय नौ पटक खरिदविक्री हुँदा ७३ करोड ४९ लाख ५४ हजार नौ सय ३६ रुपैयाँको कारोबार भएको छ । नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर र निर्धन उत्थान बैंकको चार करोडमाथिको कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट बैंकको तीन करोड तथा आरएसडीसी लघुवित्त, नविल बैंक प्रोमोटर, सिद्धार्थ बैंक र सिभिल लघुवित्तको दुई करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
जम्मा ३३ वटा कम्पनीको सेयरमूल्य बढेको दिन सबैभन्दा धेरै सिन्धु विकास बैंकका सेयरधनीले ७.५२ प्रतिशतले कमाएका छन् भने मितेरी डेभलपमेन्ट बैंक र आरएसडीसी लघुवित्तका सेयरधनीले क्रमशः ६.६० र ५.३८ प्रतिशतले कमाएका छन् । जानकी फाइनान्स, निर्धन उत्थान बैंक, सेन्ट्रल फाइनान्स, मेरो माइक्रोफाइनान्स, तारागाउँ रिजेन्सी, नविल ब्यालेन्स फण्ड, स्वाबलम्बन विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, एक्सेल डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रो, युनाइटेड मोदी हाइड्रो, महिला सहयात्रा माइक्रोफाइनान्स र अपि पावर कम्पनीका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । ङादी ग्रुप पावर, हिमालयन डिस्टीलरी, बरुण हाइड्रो, रिलायबल माइक्रोफाइनान्स, तिनाउ डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।