२०७४ भाद्र २१ गते

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कमाउनेमा लघुवित्तका सेयरधनी अगाडी

बैंकहरुले सेयरमा लगानी गर्नका लागि धमाधम कर्जा उपलब्ध गराउन थालेपछि बुधबार सेयर बजारमा हरियाली छाएको छ । उत्पादनमूलकबाहेक सबै उपसूचक बढ्दा समग्र नेप्से परिसूचक १५६६.५० अंकमा पुगेको छ । नेप्से मंगलबारको तुलनामा ११.९४ अंकले बढेको हो । बुधबारको बजार वृद्धिमा सबैभन्दा ठूलो योगदान बीमा समूहको छ । यो समूह ५५.२५ अंकले बढेको छ । त्यस्तै, बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ११.८१, २२.०३, २०.६९, ३.०४, १.२२ र ९.२५ अंकले बढेका छन् । उत्पादनमूलक भने ४८.०२ अंकले घटेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकको बम्पर लाभांशको घोषणाले लगानीकर्तालाई आकर्षित गरेको छ । दिनभरिमा १६४ वटा कम्पनीको १६ लाख ४३ हजार दुई सय ५९ कित्ता सेयर आठ हजार पाँच सय ४५ पटक खरिदविक्री हुँदा ८३ करोड ४३ लाख चार सय ६६ रुपैयाँको कारोबार भएकोमा नेपाल इन्भेष्टमेन्ट बैंकको मात्रै सात करोड चार लाख रुपैयाँको कारोबार भएको छ । गुराँस लाइफ प्रोमोटरको सवा पाँच करोडको कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्स र नविल बैंकको तीन करोडमाथिको कारोबार भएको छ । छिमेक लघुवित्तको झन्डै तीन करोडको कारोबार भएको छ । निर्धन उत्थान बैंक, नविल बैंक प्रोमोटर, स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल इन्भेष्टमेन्ट प्रोमोटरको दुई करोडमाथिको कारोबार भएको छ । सानिमा बैंकको एक करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । 

महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले कमाउँदा आरएसडीसी लघुवित्त, मिथिला लघुवित्त, विजय लघुवित्त र वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले क्रमशः ९.९७, ७.५४, ५.६६ र ५.५९ प्रतिशतका दरले कमाएका छन् । सिभिल लघुवित्त, अरुण भ्याली हाइड्रो, वरियन्टल होटल्स, नयाँ नेपाल लघुवित्त, सेन्ट्रल फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, सिद्धार्थ इक्विटी वरियन्टेड स्किमका सेयरधनीले सबैभन्दा धेरै ८.७९ प्रतिशतका दरले गुमाउँदा ङादी ग्रुप पावर, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ८.२७, ७.७५ र ५.२७ प्रतिशतका दरले गुमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंक, अरुण काबेली पावर, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, साइन रेशुंगा डेभलपमेन्ट बैंक, हिमालयन डिस्टीलरी लगायतका सेयरधनीले पनि गुमाएका छन् ।