मुक्तिनाथ विकास बैंक लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको ६१ लाख ७० हजार आठ सय ६५ कित्ता सेयर निष्काशन गरेको हो ।
बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यालिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआईबीएल क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । त्यसैगरी नेपाल इन्भेष्टभेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी शाखाबाट पनि हकप्रद सेयरमा आवेदन गर्न सकिने बताइएको छ । सेयर निष्काशन असोज ८ गतेसम्म हुनेछ ।
हाल मुक्तिनाथ विकास बैंकको चुक्तापुँजी एक अर्ब ५४ करोड २७ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब १५ करोड ९८ लाख रुपैयाँ पुग्नेछ ।
यता, सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले निष्काशन गरिरहेको १० बराबर चारको अनुपातको हकप्रद सेयर असोज २ गतेसम्म खुला रहनेछ । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ८८ करोड ५४ लाख २५ हजार सात सय रुपैयाँको एक करोड ८८ लाख ५४ हजार दुई सय ५७ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
भदौ १८ गतेसम्म निष्काशन खुला रहने सेयरमा असार २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । यसअघि सेञ्चुरीमा गाभिएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले समेत हकप्रदमा आवेदन गर्न पाउनेछन् । सिभिल क्यापिटल मार्केट लिमिटेड, सीटीसी मल सुन्धारा, काठमाडौं र सेञ्चुरी कमर्सियल बैंकका सबै शाखा कार्यालयहरुबाट बैंकको हकप्रदमा आवेदन दिन पाइनेछ ।
सेञ्चुरीले पछिल्लोपटक सेती फाइनान्सलाई गाभ्ने अन्तिम स्वीकृत नेपाल राष्ट्र बैंकबाट प्राप्त गरिसकेको छ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने स्वीकृति प्राप्त गरिसकेको छ । सबै वित्तीय संस्थालाई गाभेपछि र ४० प्रतिशत हकप्रद बिक्री पश्चात सेञ्चुरीको चुक्ता पूँजी सात अर्ब ९० करोड रुपैयाँ पुग्नेछ भने चालू आर्थिक वर्षको बोनसबाट बैंकले पूँजी आठ अर्ब पुर्याउने जनाएको छ ।