२०७४ भाद्र १५ गते

समिट माइक्रोफाइनान्सको हकप्रद सेयर भदौ २९ गतेदेखि

समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले यही भदौ २९ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा सात करोड २५ लाख रुपैयाँ बराबरको सात लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको छ । 

कात्तिक १ गतेसम्म खुला रहने हकप्रदमा भदौ ८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । सानिमा क्यापिटल नक्साल, माइक्रोफाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु, सानिमा बैंकका शाखा कार्यालयहरु धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, नाराणघाट, विरगञ्ज र जनकपुरबाट उक्त हकप्रद भर्न पाइनेछ ।

१० जिल्ला कार्यक्षेत्र भएको समिटको चुक्तापुँजी सात करोड २५ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी १५ करोड ५० लाख रुपैयाँ पुग्नेछ । बैंकले २०७७ मा २७ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याउने प्रक्षेपण गरेको छ ।