२०७४ भाद्र १४ गते

१६ सयको विन्दुबाट झर्यो नेप्से, झन्डै अर्बको कारोबार, ३५ कम्पनीका सेयरधनीले कमाए

बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम बढेको छ । परिसूचक १४.५५ अंकले घटेर १५९८.३५ अंकमा कायम हुँदा कारोबार रकम भने झन्डै एक अर्ब पुगेको छ । बीमा, होटल, जलविद्युत् र बैंकिङ समूहले बुधबारको बजार घटाएका छन् । यी कम्पनीहरु क्रमशः १०६.२६, २२.७३, २१.२९ र १६.७७ अंकले घटेका छन् । विकास बैंक र फाइनान्स पनि क्रमशः ३.७६ र ७.०८ अंकले घटेका छन् । उत्पादनमूलक र अन्य समूह भने क्रमशः २.०३ र १२.३९ अंकले बढेका छन् ।

निरन्तर ओरालो लागेर नेप्से परिसूचक १६ सयको विन्दुबाट तल झर्दा कारोबार रकम भने दिनदिनै बढेर एक अर्ब छुन लागेको छ । बुधबार दिनभरिमा १५५ वटा कम्पनीको १७ लाख ३० हजार एक सय ७५ कित्ता सेयर नौ हजार पाँच सय दुई पटक खरिदविक्री भएका छन् । जसबाट कुल ९७ करोड ८३ लाख ४१ हजार पाँच सय ७९ रुपैयाँको कारोबार भएको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरुको अग्रस्थानमा बुधबार छिमेक लघुवित्त आईपुगेको छ । लघुवित्तको छ करोड ५५ लाख पाँच हजार एक सय ६७ रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, गुराँस लाइफ प्रोमोटरको चार करोड ८७ लाख, एनआईसी एसियाको तीन करोड ९७ लाख र नेपाल लाइफको तीन करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । निर्धन उत्थान बैंक, हिमालयन पावर पार्टनर, स्टान्डर्ड चार्टर्ड बैंक, स्वरोजगार लघुवित्त, युनाइटेड इन्स्योरेन्स नविल बैंक लगायतको दुई करोडमाथिको कारोबार भएको छ ।

जम्मा ३५ वटा कम्पनीको सेयरमू्ल्य बढेको दिन सबैभन्दा धेरै प्राइम बैंकका प्रोमोटर सेयरधनीले ७.८४ प्रतिशतका दरले कमाएका छन् भने नयाँ नेपाल लघुवित्तका सेयरधनीले ५.५२ प्रतिशतका दरले कमाएका छन् । वल्र्ड मर्चेन्ट बैंकिङ, जनउत्थान सामुदायिक लघुवित्त, बुटवल पावर कम्पनी, मिर्मिरे माइक्रोफाइनान्स, युनिलिभर नेपाल, कैलाश विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, वोमी माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सिद्धार्थ इक्विटी वरियन्टेड स्किमका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा नविल ब्यालेन्स फण्ड, हिमालयन पावर पार्टनर र हिमालयन डिस्टीलरीका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । युनाइटेड मोदी हाइड्रो, रिडी हाइड्रो, जानकी फाइनान्स, युनाइटेड इन्स्योरेन्स, फर्स्ट माइक्रोफाइनान्स, सिटिजन्स बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।