२०७४ भाद्र १२ गते

सोमबार पुनः सेलायो नेप्से, कारोबार रकममा भने वृद्धि

नविल बैंकको बम्पर लाभांश घोषणाले आइतबार उचालिएको सेयर बजार सोमबार पुनः सुस्ताएको छ । उत्पादनमूलक र विकास बैंकबाहेक सबै उपसूचक घटेपछि नेप्से परिसूचक ९.४१ अंकले घटेर १६१२.९१ अंकमा कायम भएको छ । बीमा समूह सबैभन्दा धेरै ४५.३८ अंकले घटेको छ । बैंकिङ, होटल, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः १३.४७, १८.०६, ७.२१, ७.४२ र २.०३ अंकले घटेका छन् भने उत्पादनमूलक र विकास बैंक क्रमशः २७.९५ र ६.८५ अंकले बढेका छन् । 

परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । दिनभरिमा १५९ वटा कम्पनीको १५ लाख ४२ हजार दुई सय आठ कित्ता सेयर नौ हजार पाँच सय १५ पटक खरिदविक्री हुँदा ९० करोड ९३ लाख ५७ हजार एक सय रुपैयाँको कारोबार भएको छ । जसमध्ये, स्वरोजगार लघुवित्त र छिमेक लघुवित्तको छ करोडमाथि, नेपाल लाइफको पाँच करोडमाथि, प्राइम लाइफ र नेपाल बैंकको चार करोडमाथि, नविल बैंक र हिमालयन पावर पार्टनरको तीन करोडमाथि तथा स्टान्डर्ड चार्टर्ड बैंक, नविल बैंक प्रोमोटर, नेपाल इन्भेष्टमेन्ट बैंक, नेशनल लाइफ लगायतको दुई करोडमाथिको सेयर कारोबार भएको छ । 

स्वरोजगार लघुवित्त, हिमालयन डिस्टीलरी र हिमालयन पावर पार्टनरका सेयरधनीले क्रमशः ९.९९, ९.९६ र ९.७९ प्रतिशतका दरले कमाउँदा नागबेली लघुवित्त, रिलायबल माइक्रोफाइनान्स, रिडी हाइड्रो र मिथिला लघुवित्तका सेयरधनीले क्रमशः ७.४०, ७.०९, ५.२० र ५.०० प्रतिशतका दरले कमाएका छन् । नयाँ नेपाल लघुवित्त, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, समिट माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमका सेयरधनीले १० प्रतिशतका दरले गुमाउँदा नविल ब्यालेन्स फण्ड र जनरल फाइनान्सका सेयरधनीले क्रमशः ९.८५ र ९.३९ प्रतिशतका दरले गुमाएका छन् । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, सिनर्जी पावर, लक्ष्मी बैंक, सेञ्चुरी बैंक, महालक्ष्मी विकास बैंक, बुटवल पावर कम्पनी, सिटिजन्स बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।