२०७४ भाद्र ११ गते

एनएमबि माइक्रोफाइनान्सले सुरु गर्यो लघुवित्त अभिमुखीकरण तालिम

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लघुवित्त अभिमुखीकरण तालिम सुरु गरेको छ । नयाँ फिल्ड कर्मचारीहरुको काम गर्नको लागि सरल र सहज बनाउन एवम् लघुवित्तको बारेमा आवश्यक ज्ञान दिलाउने उद्धेश्यले पोखराको पृथ्वी चोकस्थित होटल स्टार रबिमा आइतबारदेखि उक्त तालिमको सुरुवात गरेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले सो तालिमको उद्घाटन गरेका छन् । 

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कोनाजोले लघुवित्तको परिचयको क्रममा यसको शुरुवातको इतिहासका साथै नेपालमा लघुवित्तको शुरुवातको बारेमा चर्चा गरे । लघुवित्तको क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा आवश्यक ज्ञान, सीप र दक्षता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको बताए । तालिम गोष्ठी कुनै पनि ब्यक्तिको वृत्ति विकासको महत्वपुर्ण औजार भएकाले हरेक कर्मचारीलाई समयसापेक्ष तालिम आवश्यक रहेको उनले बताए । त्यसैगरी ग्रामीण दुरदराजमा काम गर्ने हरेक कर्मचारीहरुमा सकारात्मक सोचाई हुनुपर्ने र कर्मचारीहरु ग्रामीण क्षेत्रको विपन्न वर्ग, समुदायमा काम गर्नुपर्ने भएकाले समुदायका हरेक व्यक्तित्वहरुलाई सम्मानजनक ब्यवहार गर्नुपर्ने कुरामा जोड दिए । लघुवित्त कार्यक्रमले नेपालको हिमाल पहाड र तराईका कुनाकन्दरामा पुगी गरीव तथा विपन्न वर्गमा वित्तीय पहुँच पुर्याउन आफूहरु अहोरात्र लागि परिरहेको उनले बताए । विपन्न वर्गका समुदायहरु मेहनती, इमान्दार र विश्वासिलो हुने भएकोले लघुवित्त कार्यक्रम शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा वढी प्रभावकारी देखिएको सीईओ कोनाजोको भनाइ थियो । हाल लघुवित्तको क्षेत्रमा अत्यन्त प्रतिस्पर्धा भईरहेकोेतर्फ औल्याउँदै उनले अन्य वित्तीय संस्थाको सेवा नपुगेको ठाउँमा गई कार्यक्रम विस्तार गर्ने तर्फ जोड दिन आग्रह समेत गरे । 

दुई दिनसम्म चल्ने सो तालिम वित्तीय संस्थाको परिचय, नेपालमा लघुवित्तको वर्तमान अवस्था, लघुवित्तको फिल्डमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश पुर्व तालिम संचालन प्रक्रियाहरुका बारेमा केन्द्रित रहने बताइएको छ ।

कार्यक्रममा नेपालको पश्चिम क्षेत्रका ४८ जना नयाँ फिल्ड कर्मचारीहरुका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।