साताको सुरुवात गिरावटबाट भएको सेयर बजार अन्तिम दिन बढेर बन्द भयो । आइतबार र सोमबार दोहोरो अंकले घटेको सेयर बजार मंगलबार सामान्य अंकले भएपनि बढेको थियो । तर, बुधबार उक्त वृद्धि कायम रहन सकेन र सेयर बजार घट्न पुग्यो । साताको अन्तिम दिन अर्थात विहीबार भने पुनः सेयर बजार ६.५७ अंकले बढेर १६१७.८१ अंकमा पुगेको छ । गत साताको अन्तिम दिन सेयर बजार १६२९.७५ अंकमा थियो । यस आधारमा हेर्दा, यो साता सेयर बजारमा ११.९४ अंकको गिरावट आएको छ । जुन गत साताको तुलनामा कम हो । गत साता सेयर बजारमा २३.७८ अंकको गिरावट आएको थियो ।
यो साता कारोबार रकम पनि उत्साहजनक हुन सकेको छैन । परिसूचकमा घटबढ भइरहँदा कारोबार रकममा पनि घटबढ देखिएको छ । आइतबार ७९ करोड ४६ लाखको कारोबार भएको बजारमा सोमबार ५२ करोडको मात्रै कारोबार भयो । त्यस्तै, मंगलबार ७२ करोड र बुधबार ६२ करोडको कारोबार भएको छ भने विहीबार ६४ करोड ७९ लाखको कारोबार भएको छ । समग्रमा यो साता तीन अर्ब ३१ करोड ४९ लाख ६५ हजार पाँच सय ८१ रुपैयाँको कारोबार भएको छ । यो साता गत साताको तुलनामा धेरै कम कारोबार भएको छ । गत साता चार दिनमा तीन अर्ब ८० करोडमाथिको कारोबार भएको थियो ।
प्राइम लाइफ इन्स्योरेन्स, नेपाल बैंक, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, प्रभु इन्स्योरेन्स, हिमालयन पावर पार्टनर लगायतको राम्रै कारोबार भएको छ । बजार निरन्तर घटिरहँदा धेरै कम्पनीका सेयरधनीले गुमाएका छन् । हिमालयन पावर पार्टनर, स्वरोजगार लघुवित्त, लक्ष्मी बैंक लगायत केही कम्पनीका सेयरधनीले कमाएका छन् । हिमालयन डिस्टीलरीका सेयरधनीले धेरै गुमाएका छन् ।


