२०७४ भाद्र ९ गते

मेगा बैंकको हकप्रद भदौ २७ गतेदेखि, टुरिजमसँगको मर्जर प्रक्रिया अन्यौलमा

मेगा बैंक नेपाल लिमिटेडले भदौ २७ गते ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । असोज ३० गतेसम्म निष्काशन हुने सेयरमा गत माघ ६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, मेगा बैंककको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ । 

चार अर्ब ५८ करोड रुपैयाँ चुक्तापुँजी भएको मेगाले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर सम्झौता गरेको छ । मर्जर प्रक्रियाका लागि गत माघ ९ गतेदेखि नै दुवै बैंकको सेयर कारोबार रोक्का छ । तर, मर्जरको टुंगो नलाग्दै मेगाले हकप्रद निष्काशन गरेर सात अर्ब ५६ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन लागेको छ । गत आर्थिक वर्षमा ७९ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको मेगाको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ छ । उक्त मुनाफाको जगेडा कोषलाई हेर्दा बैंकले अब बोनस सेयर जारी गरेर नै चुक्तापुँजी पुर्याउन सक्ने देखिन्छ । यसमाथि, टुरिजमलाई पनि गाभ्ने हो भने मेगाको चुक्तापुँजी नौ अर्ब नाघ्ने देखिन्छ । यस्तो अवस्थामा, लामो समयदेखि प्रक्रिया अघि नबढेको मेगा र टुरिजमबीचको मर्जर नै अन्यौलमा परेको छ ।