२०७४ भाद्र ७ गते

मेरो माइक्रोफाइनान्सद्वारा बाढीपीडितलाई राहत बितरण

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । संस्थाको शाखा कार्यालय बालग्राम सुनसरी, टंकिसिनुवारी मोरङ्ग तथा बैजनाथपुर मोरङ्गमा आबद्घ सदस्यहरुमध्ये २०७४ श्रावण २८ गते आएको भिषण बाढीको चपेटामा परी पुर्णरुपमा बिस्थापित २१० घर परिवारलाई भाद्र ५ र ६ गते राहत वितरण गरिएको हो । राहतस्वरुप प्रति परिवार १० किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, २ किलो नुन, नुहाउने तथा लुगाधुने साबुन, १ किलो सर्फका दरले वितरण गरेको वित्तीय संस्थाका अनुगमन अधिकृत प्रवेश अर्यालले जानकारी दिए । यसका साथै बाढीका कारण आवास तथा ब्यबसायिक परियोजना पुर्ण रुपमा नष्ट भएका ग्राहक सदस्यहरुको क्षतिको विवरण संकलन पश्चात थप राहतका कार्यक्रमहरु सञ्चालन गर्ने अनुगमन अधिकृत अर्यालले बताए ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंक बाट लघुवित्त सम्वन्धि वित्तीय कारोवार गर्न राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त संस्था हो । केन्द्रिय कार्यालय बट्टार नुवाकोट रहेको उक्त संस्थाको हाल देशभर ४४ जिल्लामा ६० वटा शाखा कार्यालय मार्फत गरिब तथा अति विपन्न परिवारलाई आय आर्जनका लागि कर्जा, बचत, बीमा, विप्रेषण जस्ता वित्तीय सेवा दिइरहेको छ ।