मंगलबार सेयर बजार सामान्य अंकले भएपनि उकालो लागेको छ । फाइनान्स र उत्पादनमूलकबाहेक सबै उपसूचक उकालो लाग्दा नेप्से परिसूचक २.४८ अंकले बढेर १६१४.०५ अंकमा पुगेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह ११.३६ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, बीमा र अन्य समूह क्रमशः १.०२, २.८२, २.८, ८.१५ र ७.५२ अंकले बढेका छन् । फाइनान्स र उत्पादनमूलक भने क्रमशः ०.९६ र ११.६४ अंकले घटेका छन् ।
परिसूचकमा सुधार आएसँगै कारोबार रकम पनि बढेको छ । दिनभरिमा १६१ वटा कम्पनीको १७ लाख ८९ हजार एक सय चार कित्ता सेयर ११ हजार छ सय ५० पटक खरिदविक्री हुँदा ७२ करोड ३१ लाख ६६ हजार छ सय ५१ रुपैयाँको कारोबार भएको छ ।
कुल कारोबारमध्ये, हिमालयन पावर पार्टनरको चार करोड ७९ लाखको कारोबार भएको छ । नेपाल बैंकको पनि चार करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको तीन करोडमाथिको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको दुई करोडमाथिको कारोबार भएको छ । गुराँस लाइफ इन्स्योरेन्स प्रोमोटर, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक, नेको इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
हिमालयन पावर पार्टनर र मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ७.४४ र ७.२२ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा ज्योति विकास बैंक, युनाइटेड फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ, जेविल्स फाइनान्स, सेन्ट्रल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, अरुण फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
हिमालयन डिस्टीलरी, सांग्रिला डेभलपमेन्ट बैंक, हिमालयन जनरल इन्स्योरेन्स, पूर्णिमा विकास बैंक, अरुण भ्याली हाइड्रो, आईसीएफसी फाइनान्स, गोर्खाज फाइनान्स, सिनर्जी फाइनान्स, एभरेष्ट बैंक (सीपी), काबेली विकास बैंक लगायतका सेयरधनीले गुमाएका छन् ।