रुपा कोइराला । वाणिज्य बैंकहरुको हालको चुक्तापुँजीको अवस्था हेर्दा सबैले आठ अर्ब पुँजी पुर्याउन सक्ने देखिन्छ । तर, आधा दर्जन बैंकहरुलाई पनि निकै कसरत गर्नुपर्ने देखिएको छ । गत असार मसान्तभित्र नै चुक्तापुँजी पुर्याइसक्नुपर्ने भएतापनि राष्ट्र बैंकले चालू आर्थिक वर्षमा साधारणसभा गरेर बोनस, हकप्रद वा मर्जर तथा एक्विजिसनको निर्णय पारित गरि कार्यान्वयनमा लैजाने समय छुट दिएको छ । यसका लागि बैंकहरुले छ महिनासम्मको समय पाउनेछन् । यो समयभित्रमा पुँजी पुर्याउन केही बैंकहरुलाई सहज भए तापनि केहीलाई भने सकस हुने देखिएको छ ।
पाँच बैंकको चुक्तापुँजी आठ अर्बमाथि
सरकारी स्वामित्वका बैंकहरु कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको चुक्तापुँजी आठ अर्ब नाघिसकेको छ । यी बैंकहरुको चुक्तापुँजी क्रमशः १२ अर्ब ५२ करोड रुपैयाँ, आठ अर्ब ५८ करोड रुपैयाँ र आठ अर्ब दुई करोड रुपैयाँ रहेको छ । निजी स्तरको नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी नौ अर्ब २४ करोड रुपैयाँ रहेको छ भने ग्लोबल आईएमई बैंकको चुक्तापुँजी आठ अर्ब आठ करोड रुपैयाँ रहेको छ ।
सजिलै चुक्तापुँजी पुर्याउन सक्ने बैंकहरु
तीन वटा बैंकको नाफा सात अर्बमाथि पुगिसकेको छ । लक्ष्मी बैंकको चुक्तापुँजी सात अर्ब ४७ करोड, नेपाल बंगलादेश बैंकको सात अर्ब २१ करोड र सनराइज बैंकको सात अर्ब एक करोड रहेको छ । चालू आर्थिक वर्षमा सामान्य बोनस सेयर दिएर नै यी बैंकहरुले आठ अर्ब चुक्तापुँजी पुर्याउनेछन् ।
त्यस्तै, हिमालयन बैंकको चुक्तापुँजी छ अर्ब ४९ करोड, जनता बैंकको छ अर्ब ९९ करोड, सिटिजन्स बैंकको छ अर्ब ९२ करोड, सानिमा बैंकको छ अर्ब ८९ करोड, एनआईसी एसिया बैंकको छ अर्ब ६९ करोड, सिद्धार्थ बैंकको छ अर्ब ६२ करोड, माछापूछ्रे बैंकको छ अर्ब ४९ करोड, एनएमबि बैंकको छ अर्ब ४६ करोड, प्राइम बैंकको छ अर्ब ३२ करोड र नविल बैंकको चुक्तापुँजी छ अर्ब १८ करोड रुपैयाँ रहेको छ । यसमध्ये, हिमालयन, जनता, सिटिजन्स, सानिमा, एनआईसी एसिया, प्राइम र नविल बैंक बोनस सेयरकै भरमा छन् । सिद्धार्थले ३० प्रतिशत हकप्रद सेयर जारी गरी पुनः १० प्रतिशत हकप्रद जारी गरेर साढे सात अर्ब पुर्याउने र बाँकी पुँजीका लागि बोनस सेयर बाँड्ने भएको छ । माछापूछ्रे बैंकले निष्काशन गरिरहेको १२ प्रतिशत हकप्रदपश्चात् सात अर्ब ३९ करोड रुपैयाँ चुक्तापुँजी पुग्नेछ । अपुग पुँजीका लागि माछापूछ्रे पनि बोनसकै भर पर्नेछ । एनएमबि बैंकले भने एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता एफपिओ निष्काशन गरेर एक अर्ब १४ करोड रुपैयाँ पुँजी जोड्नेछ । नपुगेको पुँजीका लागि बैंकले बोनस सेयर जारी गर्नेछ ।
टुरिजम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने प्रक्रियामा रहेको मेगा बैंकको चुक्तापुँजी चार अर्ब ५८ करोड २३ लाख रुपैयाँ मात्रै रहेको छ । गत आर्थिक वर्षमा ७९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको बैंकको जगेडाकोषमा एक अर्ब २८ करोड रुपैयाँ मात्र रहेको छ । बैंकले १० बराबर ६.५ को अनुपातमा हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृति पाइसकेको छ । हकप्रद निष्काशन गरेपछि बैंकको चुक्तापुँजी साँढे सात अर्ब पुग्नेछ । टुरिजमसँगको एक्विजिसनपछि मेगाको चुक्तापुँजी सजिलै आठ अर्ब नाघ्ने देखिन्छ ।
पाँच अर्ब ४६ करोड रुपैयाँ चुक्तापुँजी भएको सेञ्चुरी कमर्सियल बैंकले सगरमाथा र सेती फाइनान्सलाई गाभ्दैछ भने ४० प्रतिशत हकप्रद सेयर पनि निष्काशन गरिरहेको छ । हकप्रद र एक्विजिसनपछि चुक्तापुँजी सात अर्ब ९० करोड रुपैयाँ पुग्ने र बँँकी पुँजीका लागि बोनस सेयर जारी गर्ने बैंकले जनाएको छ ।
पाँच अर्ब ८८ करोड रुपैयाँ चुक्तापुँजी भएको प्रभु बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशनको तयारी गरेपछि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छैन । यो हकप्रद जारी गरेपछि प्रभुको चुक्तापुँजी आठ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।
आधा दर्जन बैंकलाई अझै पनि सकस
सिभिल बैंकको चुक्तापुँजी पाँच अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा ३३ करोड ८१ लाख रुपैयाँ मुनाफा कमाएको बैंकको जगेडाकोषमा एक अर्ब ४९ करोड रुपैयाँ मात्रै रहेको छ । यसआधारमा, चालू आर्थिक वर्षमा सिभिलले धेरै बोनस बाँड्न नसक्ने देखिन्छ । राष्ट्र बैंकले चुक्ता पुँजी आठ अर्ब पुर्याउन दिएको निर्देशनपछि बैंकले हामा मर्चेन्ट एन्ड फाइनान्स र युनियन फाइनान्सलाई एक्वायर गरेर एकीकृत कारोबार गरिसकेको छ । अहिले पुँजी बढाउनका लागि बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने तयारी गरिरहेको छ ।
एनसीसी बैंकको चुक्तापुँजी चार अर्ब ६७ करोड ९० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा एनसीसीले एक अर्ब ३२ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने बैंकको जगेडाकोषमा दुई अर्ब ५६ करोड ४० हजार रुपैयाँ राखेको छ । यस आधारमा हेर्दा, बैंकले चालू आर्थिक वर्षमा राम्रै बोनस बाँड्न सक्ने देखिन्छ । चार वटा विकास बैंकहरुलाई गाभेर पनि बल्ल साढे चार अर्ब नाघेको एनसीसीको पुँजी बोनस बाँडेर आठ अर्ब पुग्न नसकिने देखिन्छ ।
पाँच अर्ब ६२ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षमा एक अर्ब २३ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने जगेडाकोषमा तीन अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । एक अर्ब ९० करोड ९० लाख सात सय ७० रुपैयाँ बराबरको ६१ लाख ५८ हजार ०६७ कित्ता थप संस्थापक सेयर निष्काशन गर्दैछ । यसबाट बैंकको पुँजीमा ६१ करोड ५८ लाख रुपैयाँ थपिनेछ । बाँकी पुँजी बोनसबाटै पुर्याउन यो बैंकलाई अलि गाह्रो पर्ने देखिन्छ ।
एभरेष्ट बैंकको चुक्तापुँजी पाँच अर्ब ७४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा एक अर्ब ९८ करोड ९६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकले जगेडाकोषमा पाँच अर्ब ८८ करोड २७ लाख रुपैयाँ पुर्याएर राम्रो बोनस बाँड्न सक्ने क्षमता बनाएको छ । पुँजीवृद्धिका लागि अन्य योजना अघि नबढाएको बैंकलाई पुँजी पुर्याउनका लागि धेरै बोनस बाँड्नुपर्ने देखिन्छ ।
अघिल्लो वर्षको तुलनामा नाफा घटाएर ७० करोड रुपैयाँ मात्रै कमाएको कुमारी बैंकको चुक्तापुँजी पाँच अर्ब ९४ करोड ९६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा दुई अर्ब ११ करोड रुपैयाँ रहेको छ । जगेडा कोष पनि थोरै र नाफा पनि कम भएका कारण यो बैंकको बोनस वितरण क्षमता कम छ । पुँजीवृद्धिका लागि २० प्रतिशत हकप्रद जारी गर्ने भनेपछि बैंकले सोसम्बन्धी प्रक्रिया अघि बढाइरहेको छैन ।
मुनाफामा सामान्य वृद्धि गरेर एक अर्ब ३८ करोड रुपैयाँ पुर्याएको स्टान्डर्ड चार्टर्ड बैंकको चुक्तापुँजी चार अर्ब ५७ करोड रुपैयाँ मात्रै पुगेको छ । बैंकको जगेडाकोषमा आठ अर्ब १५ करोड ८८ लाख रुपैयाँ रहेको छ । बैंकले नाफा र जगेडाकोषबाट बोनस सेयर वितरण गरेर नै आठ अर्ब चुक्तापुँजी पुर्याउने जनाएको छ । तर, अहिलेसम्म साढे चार अर्ब मात्रै पुँजी पुगेको बैंकलाई आठ अर्ब पुँजी पुर्याउन सहज देखिँदैन ।