सुष्मा थापा । विकास बैंकहरुमध्येमा सबैभन्दा धेरै खुद मुनाफा महालक्ष्मी विकास बैंक लिमिटेडले आर्जन गरेको छ । गत आर्थिक वर्षमा ७० करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्दै महालक्ष्मी सबैभन्दा धेरै नाफा कमाउने विकास बैंक बनेको छ । 'क' वर्गकै बैंकहरु कुमारी, मेगा, जनता, सिभिल र सेञ्चुरी बैंकले क्रमशः ७१ करोड, ७९ करोड, ६४ करोड, ४४ करोड र ३३ करोड रुपैयाँ नाफा कमाउँदा महालक्ष्मी उनीहरुकै प्रतिष्पर्धामा उत्रिएको हो । अघिल्लो आर्थिक वर्षमा ३६ करोड २९ लाख रुपैयाँ कमाएको बैंकले खुद मुनाफामा गत वर्ष ९५ दशमलव ३७ प्रतिशतले वृद्धि गरेको हो ।
नाफा बढाउनेमा मात्र नभएर चुक्तापुँजी पुर्याउनेमा पनि विकास बैंकहरुमध्येकै पहिलो हो, महालक्ष्मी विकास बैंक । टुरिजम डेभलपमेन्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट बैंक, भिबोर सोसाइटी डेभलपमेन्ट बैंक जस्ता ठूला भनिएका विकास बैंकहरु नै विलय भइरहँदा महालक्ष्मी ससाना फाइनान् कम्पनी तथा विकास बैंकहरु मिलेर मजबुद बन्दै गइरहेको छ । असार मसान्तको तथ्यांक अनुसार, महालक्ष्मी विकास बैंकको चुक्तापुँजी दुई अर्ब ६३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।
मुनाफा आर्जनमा मुक्तिनाथ विकास बैंक लिमिटेड पनि खरो उत्रिएको छ । बैंकले गत आर्थिक वर्षमा ४९ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ३५ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ३८.५४ प्रतिशतले वृद्धि गर्दै उक्त खुद मुनाफा आर्जन गरेको हो ।
चुक्तापुँजी एक अर्ब ५४ करोड ५८ लाख रुपैयाँ पुर्याएको मुक्तिनाथ विकास बैंकले हाल ४० प्रतिशत हकप्रद सेयर निष्काशन गरिरहेको छ । हकप्रदपछि बैंकको चुक्तापुँजी दुई अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।
मनास्लु विकास बैंकलाई गाभेर एक अर्ब ६६ करोड रुपैयाँ चुक्तापुँजी पुर्याइसकेको ओम डेभलपमेन्ट बैंकले पनि गत आर्थिक वर्षमा ४३ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको अपरिकृष्त वित्तीय बिवरण अनुसार बैंकले सेयरधनिहरुलाई २३.५ प्रतिशत बोनश सेयर बितरण गर्न सक्ने र ३० प्रतिशत हकप्रद बितरणपछि बैंकको चुक्ता पुंजी २ अर्ब ५० करोड भन्दा बढि हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए । राजधानीबाहिर पोखरामा केन्द्रीय कार्यालय रहेर पनि ओम डेभलपमेन्ट बैंक राजधानीका बैंकहरुसँग कडा प्रतिष्पर्धामा उभिएको छ । नाफा बढाउनका लागि राजधानी केन्द्रित हुने बैंकहरुका लागि एक उदाहरण बनेको छ, ओम डेभलपमेन्ट बैंक ।
दुई अर्ब २० करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी भएको गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३।७४ मा ३४ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ दशमलव ३६ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा गरिमाले २२ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
एकआपसमा गाभिइसकेका कामना विकास बैंक र सेवा विकास बैंकले छुट्टाछुट्टै वित्तीय विवरण सार्वजनिक गरेका छन् । ८० करोड ४३ लाख रुपैयाँ चुक्तापुँजी भएको कामना विकास बैंक लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा २ दशमलव ९२ प्रतिशतले वृद्धि गर्दै १७ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्दा एक अर्ब एक करोड रुपैयाँ चुक्ता पूँजी भएको सेवा विकास बैंक लिमिटेडले पनि खुद मुनाफामा ६० दशमलव ७४ प्रतिशतले वृद्धि गरी १७ करोड २८ लाख रुपैयाँ कमाउन सफल भएको छ ।
मेगा बैंकमा विलय हुन लागेको टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७३/७४ मा ३१ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.२१५ बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा टुरिजमले १९ करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आ.व २०७२।७३ को प्रस्तावित बोनस सेयर समेत गरी बैंकको हालको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ रहेको छ ।




