सेयर बजार झन्झन् सुस्ताउँदै गएको छ । यो साता चार दिन कारोबार भएकोमा तीन दिन सेयर बजारमा गिरावट आयो । आइतबार र मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार सामान्य बढे पनि विहीबार पुनः घटेर बन्द भयो । गत साताको अन्तिम दिन १६५३.५३ अंकमा बन्द भएको सेयर बजार यो साता १६२९.७५ अंकमा बन्द भएको छ । यस आधारमा हेर्दा सेयर बजार यो साता २३.७८ अंकले घटेको छ । गत साता नेप्से ७.०५ अंकले मात्रै घटेको थियो ।
परिसूचकमा लगातार गिरावट आएपछि कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । आइतबार ८० करोडको कारोबार भएको बजारमा मंगलबार ७८ करोड र बुधबार ७० करोडको कारोबार भयो । विहीबार भने कारोबार रकम सामान्य बढेर ७५ करोड ७० लाख रुपैयाँ पुग्यो । समग्रमा यो साता तीन अर्ब पाँच करोड १२ लाख ३६ हजार दुई सय ४५ रुपैयाँको कारोबार भयो । गत साता तीन अर्ब ८० करोड १५ लाख २३ हजार नौ सय १५ रुपैयाँको कारोबार भएको थियो ।
यो साता नेशनल हाइड्रोपावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक लगायतको धेरै कारोबार भएको छ । महालक्ष्मी विकास बैंकका सेयरधनीले धेरै कमाएका छन् भने हिमालयन डिस्टीलरीका सेयरधनीले धेरै गुमाएका छन् ।
