बुधबार सामान्य भएपछि बढेको सेयर बजार विहीबार पुनः ओरालो लागेको छ । नेप्से परिसूचक २.९१ अंकले घटेर १६२९.७५ अंकमा कायम भएको छ । जलविद्युत् र बैंकिङबाहेक सबै समूह ओरालो लागेका छन् । उत्पादनमूलक सबैभन्दा धेरै ५९ अंकले घटेको छ । होटल, विकास बैंक, फाइनान्स, बीमा र अन्य समूह क्रमशः ८.०२, ५.०५, ०.४८, ३८.१५ र ४.३४ अंकले घटेका छन् । जलविद्युत् र बैंकिङ भने क्रमशः ०.५२ र ३.५३ अंकले बढेका छन् ।
कारोबार रकम बुधबारको तुलनामा उकालो लागेपछि सन्तोषजनक भने छैन । दिनभरिमा १६६ वटा कम्पनीको ३२ लाख १५ हजार एक सय २८ कित्ता सेयर छ हजार आठ सय २७ पटक खरिदविक्री हुँदा ७५ करोड ७० लाख १७ हजार सात सय ६८ रुपैयाँको कारोबार भएको छ । बुधबार ७० करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बेरै चार करोड ८५ लाख रुपैयाँको कारोबार हुँदा नेशनल लाइफ इन्स्योरेन्स प्रोमोटर र नविल ब्यालेन्स फण्डको तीन करोडमाथिको सेयर कारोबार भएको छ भने फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको दुई करोडमाथिको कारोबार भएको छ । शिखर इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, नविल बैंक, नेपाल ग्रामीण विकास बैंक, प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको डेढ करोडमाथिको कारोबार भएको छ ।
सिर्जना फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.९८ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा सानिमा माइ हाइड्रोका सेयरधनीले ५.८८ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, नविल ब्यालेन्स फण्ड, स्वदेशी लघुवित्त, कुबेर मर्चेन्ट फाइनान्स, पोखरा फाइनान्स, लुम्बिनी विकास बैंक, गुडविल फाइनान्स, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, विजय लघुवित्त लगायत ५० कम्पनीका सेयरधनीले कमाएका छन् ।
यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको हिमालयन डिस्टीलरीका सेयरधनीले ९.४६ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा नेपाल ग्रामीण विकास बैंक र काबेली विकास बैंकका सेयरधनीले क्रमशः ५.५० र ५.३९ प्रतिशतका दरले गुमाएका छन् । सिनर्जी पवर, वल्र्ड मर्चेन्ट बैंकिङ, नेशनल लाइफ प्रोमोटर, ललितपूर फाइनान्स, बोटलर्स नेपाल, सहयोगी विकास बैंक, दिव्यश्वरी हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।