राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षमा तीन अर्ब आठ करोड २६ लाख ६० हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.९१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ३५ करोड ५२ लाख ८८ हजार रुपैंया खुद नाफा गरेको थियो ।
यससँगै, वाणिज्य बैंकहरुमा अधिक खुद नाफा कमाउनेको सूचीमा वाणिज्य बैंक चौथो स्थानमा परेको छ । धेरै नाफा कमाउने बैंकहरुको पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।
चुक्ता पूँजी आठ अर्ब ५८ करोड ८९ लाख ७२ हजार रुपैंया रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ११ करोड ३८ लाख २४ हजार रुपैंया सञ्चित छ । बैंकले निक्षेप एक खर्ब ४६ अर्बबाट बढाएर एक खर्ब ५३ अर्ब ५७ करोड ५९ लाख ८७ हजार पुर्याएको छ । कर्जातर्फ पनि ८५ अर्बबाट बढोत्तरी गरेर एक खर्ब छ अर्ब ४३ करोड १३ लाख ५१ हजार रुपैयाँ लगानी गरेको छ । बैंकले खुद ब्याज आम्दानीमा पनि २५.७५ प्रतिशतले बढोत्तरी गरेर छ अर्ब ९७ करोड ९१ लाख ६३ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकले पाँच अर्ब ५४ करोड ९९ लाख २७ हजार खुद ब्याज आम्दानी गरेको थियो ।
सम्भावित जोखिमका लागि एक अर्ब ३८ करोड ७९ लाख ९० हजार रुपैयाँ छुट्याएको यो बैंकले एक अर्ब २१ करोड ३१ लख २१ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । अघिल्लो वर्ष ४.२५ प्रतिशत रहेको बैंकको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा घटेर २.३५ प्रतिशत हुन पुगेको छ । बैंकको कर्जा निक्षेप अनुपात ५८.४६ प्रतिशतबाट बढेर ६९.३० प्रतिशत पुगेको छ ।